सदरमुकाम चरिकोटस्थित जिल्ला कारागारमा खानेपानीको अभाव हुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् ।
कारागारमा खानेपानी अभाव भएका कारण कैदीबन्दीहरूकाे नियमित सरसफाईमा समेत समस्या परेको कैदी बन्दीहरूले गुनासो गरेका छन् ।
जिल्ला कारागार प्रमुखको जिम्मेवारीमा रहनु भएका प्रमुख बिकल श्रेष्ठका अनुसार ४० जना क्षमताको कारागारमा हाल कैदी १ सय २० जना र बन्दी ३५ जना गरी १ सय ५५ जना पुरुष रहेका छन् । महिला कैदी बन्दीहरूलाई अन्य जिल्लामा पठाउने गरिएको छ । क्षमता भन्दा बढी कैदी बन्दी राख्नुपर्दा शौचालय जान र सरसफाइका लागि लाइन बस्नु पर्ने श्रेष्ठले बताउनु भयो ।
खानेपानीको लागि ट्याङ्की भए पनि मर्मत हुन नसक्दा पानी चुहिने भएकोले कैदीबन्दीलाई सरसफाइमा समस्या परेको कारागार प्रमुख श्रेष्ठको भनाइ रहेको छ ।
खानेपानी ट्याङ्की मर्मतका लागि बिभाग र अन्य निकायमा आग्रह गर्दासमेत सुनुवाइ नभएकोले कारागारका चौकीदार महेश्वर आचार्यले बताउनु भयो ।