१४ वर्षीया बालिकालाई बेचबिखन तथा ओसार पसार गरेको आरोपमा प्रहरीले नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका–६ का ३९ वर्षीय सम्बरबहादुर तामाङ र तादी गाउँपालिका–२ की ३३ वर्षीया इन्दिरा कटवाल तामाङलाई चापागाउँबाट ०८१ जेठ २८ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितद्वयले पोखरास्थित आफ्नै होटलमा काम दिने भन्दै चापागाउँबाट कान्ति लोकपथहुँदै हेटौंडा, बीरगञ्ज हुँदै भारतको रक्सौल लैजाने योजना अनुसार चापागाउँमा बास बसेको अवस्थामा गिरफ्तार गरेको हो ।
पीडितलाई आरोपितहरूले काठमाडौबाट ललितपुरमा ल्याएर राखेको पाइएको मानव बेचबिखन अपराध अनुसन्धान व्यूरोको टोलीले जानकारी दिए लगत्तै आरोपित दुवै जनालाई गिरफ्तार गरिएको प्रहरी परिसर, ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिनु भयो ।
आरोपित सम्बरबहादुर यस अघि पनि मानव बेचबिखन तथा ओसार पसार मुद्दामा १० वर्ष कैद भुक्तान गरी २०८० वैशाखमा रिहा भएको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका एसपी ज्ञानेन्द्र फुँयालले जानकारी दिनुभयो ।
ललितपुर जिल्ला अदालतबाट जेठ २८ गते पाँच दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसार पसार मुद्दामा अनुसन्धान भइरहेको एसपी सुवेदीले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २८ गते प्रसूति गृह, थापाथलीमा गरिएको छ ।