सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिकूल प्रभाव पार्ने नीति अवलम्बन गरेको आरोप लगाउँदै नेपाल पत्रकार महासंघले ०८३ साउन ९ गते काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने मूल नारासहित आयोजित प्रदर्शन महासंघको उपत्यका प्रदेश समिति तथा काठमाडौँ, ललितपुर र भक्तपुर शाखाको संयुक्त आयोजनामा सम्पन्न भएको हो । प्रदर्शनमा सहभागी पत्रकारहरूले वर्तमान सरकारले सञ्चार क्षेत्रमैत्री नीति ल्याउने अपेक्षा विपरीत प्रेसमाथिको दबाब बढ्दै गएको र अभिव्यक्ति स्वतन्त्रता संकुचित हुँदै गएको बताएका छन् । सञ्चारगृहलाई लक्षित गतिविधि बढेसँगै नेपाली मिडिया क्षेत्र स्वनियन्त्रणको चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको महासंघको भनाइ छ । महासंघले लामो समयदेखि उठाउँदै आएका सञ्चार क्षेत्रका मागप्रति सरकारले बेवास्ता गरेको आरोप लगाउँदै समानुपातिक विज्ञापन नीति कार्यान्वयन, साना तथा स्वरोजगार सञ्चारमाध्यमको संरक्षण र लोककल्याणकारी विज्ञापन प्रणालीलाई समयानुकूल सुधार गर्न माग गरेको छ ।
त्यसैगरी, श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, सञ्चार क्षेत्रसँग सम्बन्धित आवश्यक संरचनाको गठन, पत्रकारको बिमा तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न पनि महासंघले सरकारसँग आग्रह गरेको छ । यसअघि जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन वितरणमा लगाइएको प्रतिबन्ध हटाउने सर्वोच्च अदालतको आदेशलाई महासंघले स्वागत गरेको थियो । तर, अदालतको आदेश व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुनेमा भने महासंघले आशंका व्यक्त गरेको छ । आदेश कार्यान्वयन नभए सञ्चार क्षेत्र थप संकटमा पर्ने चेतावनी पनि महासंघले दिएको छ ।
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चारगृहको सुरक्षा र नागरिक अधिकारको संरक्षण सुनिश्चित गर्न सरकारलाई तत्काल विवादास्पद नीति फिर्ता लिन आग्रह गरेको छ । साथै, संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता, अन्तर्राष्ट्रिय मान्यता र लोकतान्त्रिक अभ्यासको सम्मान गर्न सरकारलाई ध्यानाकर्षण गराउँदै आन्दोलनलाई थप प्रभावकारी बनाउन सञ्चारकर्मी, नागरिक समाज र सरोकारवालालाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ ।