जिल्ला अस्पतालमा अक्सिजनको अभाव भएपछि स्वासप्रस्वास तथा दम रोगका बिरामीहरु मर्कामा परेका छन् ।
जिल्ला अस्पतालमा रहेको अक्सिजन उत्पादन गर्ने मेसिन एक बर्षदेखि बिग्रिएपछि अहिलेसम्म पनि मर्मत नहुँदा अक्सिजनको अभाव भइ गम्भीर खालका बिरामीहरु समस्यामा परेका हुन् ।
अक्सिजन सिलिन्डरहरु खाली भएको भर्नको लागि नेपालगञ्ज पुग्नु पर्ने समस्या छ । यो समस्याले गम्भीर खालका बिरामीेहरु समस्यामा परेको स्वास्थ्य सेवा कार्यालय डा. संकेत विकले जानकारी दिनु भयो । उहाँका अनुसार गम्भीर खालका स्वासप्रस्वासका बिरामीलाई बाहेक अन्य दमका बिरामी आएकोमा रिफर गर्नु परेमा अक्सिजनको आफै व्यवस्थापन गर्नु पर्ने भएका कारण विपन्न वर्गका बिरामीहरु चर्काे मारमा परेका छन् ।
स्वासप्रस्वासको समस्या रहेकोले अक्सिजन लिन जिल्ला अस्पताल पुगे पनि अभाव रहेकाले त्यत्तिकै घर फर्कनु परेको खाडाचक्र नगरपालिका– १ निवासी ८१ वर्षीया भवनदरी शाहीले गुनासो गर्नु भयो ।
दम रोगका कारण समस्या उत्पन्न भएको र जिल्ला अस्पतालमा अक्सिजनको अभावले आफै नेपालगञ्जबाट महङ्गो मूल्य तिरेर व्यवस्थापन गरेको खाँडाचक्र नगरपालिका– ५ की ६५ वर्षीया फूलमायाँ चौलागाँइले बताउनु भयो ।
अक्सिजनको अभावले,दम,स्वासप्रस्वास,फोक्सोका बिरामीहरु मर्कामा रहेको र एक हप्तामा अर्काे अक्सिजन प्लान्ट मेसिन मर्मत गर्ने कम्पनीसँग तत्काल सम्झौता गरेर मर्मत गरि दुई हप्ता भित्र समस्याको समाधान गर्नका लागि प्रयास भइरहेको अस्पतालका डा. विकले बताउनु भयो ।