२३ वर्षीया महिलालाई बेचविखन गरेको आरोपमा व्यास नगरपालिका– ३ की ४० वर्षीया प्रमिला भन्ने फुलमाया श्रेष्ठलाई ११ वर्ष कैद र ६० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।
न्यायाधीश कमलराज विष्टको ०८१ जेठ २३ गतेको इजलासले उक्त मुद्दामा अन्तिम फैसला गर्दै श्रेष्ठलाई उक्त सजाय र पीडितलाई ४० हजार रुपियाँ क्षतिपुर्ती तथा आरोपितको होटलमा भेटिएको ८७ हजार रुपियाँ जफत गर्ने तथा पटके मुद्दामा थप ६ महिना कैद र थप २० हजार रुपियाँ जरिबानाको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार केशव पौडेलले जानकारी दिनु भयो ।
व्यास नगरपालिका– १२ घाँसिकुवामा फ्रेन्डसिप रेष्टुरेन्ट एण्ड लज सन्चालन गर्दै आएकी श्रेष्ठले उक्त होटलमा २०७८ माघ महिनाबाट सरसफाइको काम गर्दै आएकी २३ वर्षीया महिलालाई होटलमा आउने ग्राहकहरुसँग पटक–पटक यौन सम्बन्ध राख्न दवाब दिएको र पछिल्लो पटक ०७९ असोज २४ गते राती पुनः होटलका ग्राहकसँग यौन सम्बन्ध राख्न दवाव दिएको भन्दै पीडित महिलाले ०७९ असोज २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
आरोपित विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मार्फत् ०७९ कात्तिक १४ गते मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार जिल्ला अदालतमा मुद्दा दर्ता गरि कात्तिक १५ गते पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा पठाएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०७९ असोज २५ गते दमौली अस्पतालमा भएको थियो ।