जेठ १७ र १८ गते आएको हावाहुरीका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा लाखौँको क्षति भएको छ । भने हावाहुरीबाट हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु समेत भएको छ ।
तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार तनहुँमा जेठ १७ र १८ गते साँँझ हावाहुरीसँगै आएको असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ । व्यक्तिका घर, गोठ, विद्यालय, कृषि बाली, बिजुलीका पोलमा क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।
प्रजिअ गौतमका अनुसार हालसम्म हावाहुरीले ३ सय घर, दुई विद्यालय, एक मन्दिरको छाना उडाएको तथा भत्काएको छ । चट्याङ्ग पर्दा व्यास नगरपालिका– ८ रिस्तीमा एक घरमा क्षति पुगेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको र नेपाल रेडक्रस तनहुँसँग समन्वय गरेर पीडितलाई त्रिपाल लगायतको व्यवस्थापन भइरहेको प्रजिअ गौतमले जानकारी दिनुभयो ।
हावाहुरीसँगै आएको असिनापानीले किसानले लगाएको विभिन्न तरकारी बालीमा क्षति पुर्याएको छ । फल लागेका आप, सुन्तला, लिची तथा अन्य तरकारी बालीमा हावाहुरी र असिनापानीले क्षति पु¥याएको छ । हावाहुरीले मानवीय क्षति भने नभएको प्रजिअ गौतमले बताउनु भयो ।
यस्तै, जिल्लाको विभिन्न स्थानमा हावाहुरीले विद्युत अवरोध बनेको छ । विद्युत पोल तथा तारमा भएको क्षतिले विद्युत प्रवाहमा अवरोध भएको तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो । विद्युत सेवा सूचारु गर्न रेग्मीसहितको टोली अवरोध भएको स्थानमा खटिनुभएको छ । ठुला–ठुला रुख ढलेर तारमा लागेकाले पोल समेत ढलेको रेग्मीले जानकारी दिनुभयो ।
व्यास नगरपालिकाको वडा नम्बर ७ कलेस्ती, वडा नम्बर ९ को गजौडें, वडा नम्बर १० को बैरेनी, वडा नम्बर ११ को पोल्याङ, वडा नम्बर १२ को छिर्कने, १३ नम्बर वडाको पोखरीभञ्ज्याङ, १४ नम्बर वडाको कुलुङ लगायतका दर्जनौ स्थानमा विद्युत पोल ढलेर विद्युत सेवा अवरुद्ध भएको तनहुँ वितरण केन्द्रले जनाएको छ । हुरीले रुख ढलेर लाग्दा बन्दीपुर गाउँपालिका– १ भैंसीगोठस्थित खड्गदेवी मन्दिर समेत भत्किएको स्थानीय सन्जय श्रेष्ठले जानकारी दिनुभयो ।
नवलपुर जिल्ला प्रतिनिधि ज्ञानु पंगेनीका अनुसार नवलपरासी पूर्वमा जेठ १७ गते आएको हावाहुरीले आँप र सालका रुखहरु ढली १० ओटा घर र दुई ओटा विद्यालयमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार प्राप्त क्षतिको विवरण अनुसार विनयी त्रिवेणी गाउँपालिका– ५ मा चार ओटा घरमा क्षति पुगेको छ ।
त्यसैगरी मध्यविन्दु नगरपालिका– ५ मा चार ओटा घरमा रुख ढली क्षति भएको छ भने देवचुली नगरपालिका– ४ झाँक्रेमा सालको रुख ढली एउटा घरमा क्षति भएको छ भने गैडाकोट– १३ सिख्रौलीमा एउटा घरको छाना उडाएको छ ।
त्यस्तै मध्यविन्दु नगरपालिका– १० नयाँ बेलहानीमा सरस्वती माविमा रुख ढलेर पर्खाल र भर्याङ भत्किएको छ भने कावासोती– १७ को सरस्वती माविमै रुख ढलेर क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
त्यसैगरी ठाउँठाउँमा विजुलीको पोलमा रुख ढलेर क्षति पुर्याएका कारण विभिन्न स्थानमा विद्युत अवरुद्ध भएको छ ।
गोरखा जिल्ला प्रतिनिधि हरिराम उप्रेतीका अनुसार हावाहुरीले समीको रुखको हाँगा भाँचिएर लाग्दा शहिद लखन गाउँपालिका–४ ताक्लुङका ५० वर्षीय गिरबहादुर रानाको मृत्यु भएको छ । जेठ १७ गते शहिद लखन–४ स्थित चालीसेबाट घर फर्कदै गर्दा अचानक आएको हावाहुरीले बाटोमो रहेको समीको रुखको हागाँ भाच्चिएर लाग्दा राना घाइते हुनुभएको थियो ।
उहाँको सोहि दिन उद्धार गरि उपचारका लागि चितवन स्थित पुरानो मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा जेठ १८ गते रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । साथै हावाहुरीका कारण गोरखामा दुई दर्जन भन्दा धेरै घरको छाना उडाएका छन् भने अन्न बालीमा पनी क्षति पुगेको छ ।
कास्की जिल्ला प्रतिनिधि सन्जय रानाभाटका अनुसार रुपा गाउँपालिकामा १४ घरमा हावाहुरीका कारणले क्षति पुगेको छ । जेठ १७ गते साँझ आएको हावाहुरीका कारण रुपा गाउँपालिकाको विभिन्न स्थानहरुमा क्षति पुगेको हो ।
हावाहुरीले घरमा क्षति पुगेको छ भने मानवीय तथा पशु चौपायमा भने क्षति भएको छैन । कास्की प्रहरीका अनुसार रुपा गाउँपालिका वडा नं. १ च्यार्पे स्थित नर माया गुरुङको कच्ची घरको टिनको छानो उडाएको छ भने घरभित्र राखिएको अन्नपात लत्ता कपडा भिजेर क्षति पुगेको छ । साथै वडा नं. २ छापडाँडा स्थित सोम बहादुर खड्काको कच्ची धनसारको छानो उडाएको, धनसारमा रहेको अन्नपात भिजेर क्षति पुगेको छ ।
माझकोटका हर्क बहादुर गुरुङ, जामुनेकी चिजा माया गुरुङ, प्रतिक अधिकारी, कसिला गुरुङ, गंगा गुरुङ, राज कुमार तामाङको घरमा पनि हावाहुरीले क्षति पुर्याएको छ । मियागाउ बस्ने अब्बस अलि मिया, अबदुल मिया, रजिना मिया, मैमुन मिया, लैलातान मिया, कृष्ण बहादुर थापा, तसबिरन मियाको घरमा क्षति पुगेको कास्की प्रहरीले जनाएको छ । चिसापानी स्थित कोट मन्दिरको टिनको छानो र थापा गाँउको कुल मन्दिरको टिनको छानो उडाएर क्षति पुर्याएको प्रहरीले जनाएको छ ।





