कञ्चनरुप नगरपालिका-३ बरमझिया चौधरी टोलकी २२ वर्षीया पुनिता कुमारी चौधरीको हत्या आरोपमा १६ वर्ष पछि उनका पति ४४ वर्षीय चन्द्रकिशोर चौधरी ०८१ जेठ १६ गते गिरफ्तार भएका छन् ।
घरको कोठामा २०६५ असोज २१ गते साँझ साडीको पासोमा झुण्डिएको अवस्थामा पुनिता भेटिएकी थिइन् । घाँटीको पासो खोली उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउँदा चिकित्सकले पुनितालाई मृत घोषणा गरेका थिए । शवको परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ०६५ असोज २२ गते भएको थियो । मृतकका पति चन्द्रकिशोरले प्रहरी कार्यालयमा झुण्डि आत्महत्याको निवेदन दिएका थिए ।
मृतकका भिनाजु पुष्पनारायण चौधरी र काकाको छोरा दिपेन्द्रकुमार चौधरीले ०६५ असोज २४ गते इलाका प्रहरी कार्यालय कञ्चनरुप समक्ष आरोपितविरुद्ध वयान गरेका थिए ।
शवको विशेष परीक्षण प्रतिवेदनमा घाँटी मेरुदण्डको हड्डी २, ३ ठाउँमा भाँचिएको देखाएको अस्पतालले जनाएको छ । त्यसपछि इलाका प्रहरी कार्यालय कञ्चनरुपले झुण्डि आत्महत्यामा दर्ता रहेको मुद्दालाई ०६७ असोज २२ गते कर्तव्य ज्यानमा परिणत गरेको थियो । त्यसयता आरोपित फरार थिए ।