आर्थिक अभावमा देवघाट गाउँपालिका– ४ रातेपानीका ११ वर्षीय बालक राम भूजेल भाँचिएको हातको उपचार गर्न नसकी घरमै बस्न बाध्य भएका छन् । १४ महिना अघि भिरबाट लडेर दाहिने हात भाँचिएका उनको आर्थिक अभावमा उपचार गर्न नसकी अभिभावकहरुले त्यसै घरमा राखेका छन् ।
भिरबाट लडेको एक वर्ष हुँदासम्म पनि उपचार नपाएका भूजेलको दाहिने हातको पाखुरामा हड्डी बाहिर निस्किएको छ । उनी हातको पाखुरामा हड्डी देखाएर हिड्न बाध्य भएका छन् । बालकका हजुरबुबा तुलबहादुर भूजेलले रामको उपचारमा यसअघि नै डेढ लाख खर्च भइसकेको तर राम्रोसँग निको नभएको र अहिले पैसा पनि नभएको कारण थप उपचार गर्न नसकेको बताउनु भयो । नातीको थप उपचारको लागि अब आफुसँग कत्ति पनि पैसा नभएको तुलबहादुरले बताउनु भयो ।
चरम आर्थिक सङ्कटमा रहनुभएका ६३ वर्षीय तुलबहादुर भुजेलले नातिको यो अवस्था हेर्ने रहर कत्ति पनि नभएपनि उपचारका लागि अस्पतालसम्म पुग्न सक्ने अवस्था नरहेको हुँदा नातिको पीडा देख्नु र महसुस गर्नुको विकल्प नभएको बताउनु भयो ।
हजुरबुबा तुलबहादुरका अनुसार रामको एक वर्ष पहिले भिरबाट लडेर हात भाचिएको थियो । घटना लगत्तै उनको चितवनकोे भरतपुर अस्पतालमा शल्यक्रिया भएपनि आर्थिक अवस्था कमजोर हुँदा थप उपचार हुन सकेन । छोराको उचार गर्न नसक्दा शल्यक्रियापछि हातबाट पिप बग्ने र छाला झर्ने जस्ता समस्या देखिएपछि हातको पाखुराबाट हड्डी बाहिर निस्किएको उहाँले बताउनु भयो । रामका बुवा ३६ वर्षीय सुक बहादुर भुजेल पनि भिरबाट लडेर शारीरिक रुपमा अपाङ्ग बनेको हुँदा रामको हेरचाह हजुरबुवा तुलबहादुरले गर्दै आउनु भएको छ ।
सात वर्षअघि भीरबाट लडेर घाइते हुनुभएका ३६ वर्षीय सुकबहादुर अहिले पनि चोट बोकेरै हिँडिरहनु भएको छ । उहाँको देब्रे हात र देब्रे खुट्टाले राम्रोसँग भर पाउँदैन । ‘एकपल्ट अस्पताल पुगेको थिएँ । डाक्टरले नसा च्यापिएको छ, अप्रेसन गर्नुपर्छ भन्नुभएको थियो । पैसा नभएर फर्केर आएँ’, सुकबहादुर भन्नु भयो ‘अहिले हात पनि राम्रोसँग चलाउन मिल्दैन । खुट्टाले पनि भर पाउँदैन । ओरालो हिँड्नै मिल्दैन ।
‘छोरा र नातिको उपचारमा सकेको खर्च गरेँ, तर दुवैजनाले नै राम्रोसँग उपचार पाउन सकेनन्’ तुलबहादुरले भन्नु भयो ‘छोरा र नातिलाई आफूसँगै हिँड्न सक्ने त बनाएँ । तर, पूरै निको हुने गरी उपचार गराउन सकिनँ ।’
१० जनाको परिवार धान्ने जिम्मा तुलबहादुरको काँधमा छ । अहिले घरमा उहाँसहित पत्नी, तीन छोरा, एक बुहारी, दुई नाति र दुई नातिना सँगै छन् । घरमा आयस्रोत केही छैन ।
आर्थिक अवस्था निकै कमजोर रहेको यो परिवारमा प्रकृतिले पनि साथ दिएन । गत वैशाख १५ गते परेको चट्याङले उनिहरुको बस्ने बास समेत जलेको छ । अहिले स्थानीयहरु सहयोग जुटाएर उनिहरु बस्ने बास बनाइदिने अभियानमा छन ।
देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले चट्याङले घर जलेको परिवारलाई नेपाल सरकारको नियम अनुसारको राहत रकम उपलब्ध गराइने र गाउँपालिकाको तर्फबाट थप अन्य सहयोगहरु पनि उपलब्ध गराउने बताउनुभयो । तर बालकको उपचार नभएको बारेमा भने आफुलाई भर्खर मात्र जानकारी भएको हुँदा उनको उपचारको लागि पनि गाउँपालिकाले पहल गर्ने बताउनु भयो ।