INSEC Online

📅 २०८३ जेष्ठ २१

अरूण तेस्रो प्रवेश मार्ग मुआव्जा पीडितको उजुरी, राष्ट्रिय मानव अधिकार आयोगको चासो

सङ्खवासभामा निर्माणाधीन नौ सय मेगावटको अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग मुआव्जा पीडितले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गरेपछि आयोगले चासो लिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले अरुण तेस्रो प्रवेश मार्ग पीडित सङ्घर्ष समिति र सरोकारवाला निकायसँग ०८१ जेठ ६ गते अन्तरक्रिया गरी मुआब्जाका विषयमा चासो लिएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले विकासका नाममा वन्यजन्तु र वातावरण विनास भएको भएकाले आयोगले चासो लिएको बताउनु भयो । अरूण तेस्रो प्रवेश मार्ग पीडितहरूको जायज माग सम्बोधनका लागि  सरकारको ध्यानार्कषण गराउने आयोगका सदस्य दुवादीले बताउनु भयो ।

आयोगको टोलीले अरूण तेस्रो विद्युतगृहस्थलको २४ किलोमिटर सडकखण्डको स्थलगत अनुगमन गरेको छ । अनुगमनपछि आयोगले सदरमुकाम खाँदबारीमा पीडित र सरोकारवालाबिच छलफल गरेर गुनासो सङ्कलन गरेको छ । मुआव्जा पीडितले आयोगमा तीन महिना अघि उजुरी हालेका थिए ।

सरकारले मुआव्जा पीडितका लागि आवश्यक पर्ने ५३ करोड रुपियाँ जिल्ला प्रशासन कार्यालयको खातामा पठाए पनि पीडित पक्षले पाएका छैनन् । छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको २४ किलोमिटर क्षेत्रको मुआब्जा विवाद चर्किएको हो । प्रवेश मार्गमा रहेका ४ सय स्थानीयले ५ सय ५४ रोपनी जग्गाको मुआव्जा पाउन बाँकी छ ।

जिल्ला प्रशासन कार्यालयका गठित  छुट मुआब्जा निर्धारण समितिले ०८१ वैशाख २६ गते छयाङकुटी–दिदिड सडकखण्डको प्रति रोपनी ११ लाख ७५ हजार रुपियाँ दिने निर्णय गरेको थियो । सङ्खुवासभामा निर्माणाधीन अरूण तेस्रो विद्युत् आयोजना निर्माण भारतीय कम्पनी सतलजले गरिरहेको छ ।

सरकारले ०८० कात्तिक १६ गते पूर्वसहसचिव जनकराज दाहाल र पूर्वसहसचिव पद्मनिधि सोतीसहितको उच्चस्तरीय कार्यदल गठन गरेको थियो । उच्चस्तरीय कार्यदलले अरूण तेस्रो प्रवेश मार्ग छुट मुआब्जा विवादसम्बन्धीको प्रतिवेदन सरकारलाई बुझाइ सकेको छ ।

नेपालको संविधानले धारा २५ मा सम्पत्तिको अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ ।

नेपाल सरकार, जग्गा प्राप्ति ऐन, २०३४ मा नोक्सानी बापत दिइने क्षतिपूर्तिका विषयमा व्यवस्था गरिएको छ । सो ऐनमा (१) दफा ६ बमोजिम बाली, रूख, पर्खाल आदि काटेको वा भत्काए बापतको नोक्सानीको लागि र माटो, ढुङ्गा, झिक्दा, खाडल खन्दा वा बोरिङ्ग गर्दा नोक्सानी भएमा सो बापत क्षतिपूर्ति दिइनेछ ।

(२) उपदफा (१) बमोजिमको क्षतिपूर्तिको रकम प्रारम्भिक कारबाई चलाउने अधिकारीले निर्धारण गरी सरोकारवाला व्यक्तिलाई दिनेछ ।

(३) उपदफा (२) बमोजिम निर्धारण गरिएको क्षतिपूर्तिमा चित्त नबुझ्ने व्यक्तिले त्यस्तो क्षतिपूर्ति निर्धारण भएको कुराको जानकारी प्राप्त गरेको मितिले पन्ध्र दिनभित्र प्रमुख जिल्ला अधिकारी समक्ष उजुर गर्न सक्ने छ र त्यस्तोमा प्रमुख जिल्ला अधिकारीको निर्णय अन्तिम हुने भनिएको छ ।

Photo 20240519 Sangkhuwasabha (1)

Photo 20240519 Sangkhuwasabha (2)

Photo 20240519 Sangkhuwasabha (4)

अन्य

भिडियो