सिमकोट गाउँपालिका–२ ठेहेमा गाउँ स्थित रामदेव माध्यमिक विद्यालय भवनकाे छानो जेठ १ गते राती आएकाे हावाहुरीले उडाएपछि चारदिनदेखि पठनपाठन प्रभावित भएको छ ।
हावाहुरीले विद्यालयको दुई कोठे भवनको छानो उडाएको विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष नर भण्डारीले जानकारी दिनुभयो । हावाहुरीले विद्यालयको एकतर्फी भागको सबै जस्तापाता उडाएपछि हाल विद्यार्थी खुल्ला आकाशमुनि पठनपाठन गर्न बाध्य भएका छन् ।
हावाहुरीले उडाएको दुई कोठे भवनमा कक्षा सात र आठका विद्यार्थी अध्ययन गर्दै आएका थिए । अरु वैकल्पिक भवन नहुँदा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको स्थानीय अभिभावक संकल्प बोहराले बताउनुभयो । कक्षा सातमा १८ जना र कक्षा आठमा २२ जना विद्यार्थी रहेका छन् ।
उक्त दुई कोठे भवन २०७६ सालमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण भएको थियो । उक्त दुई कोठे भवनको लागत १८ लाख रुपियाँ र जनश्रमदान २ लाख गरी २० लाख रुपियाँमा निर्माण भएको थियो । विद्यालयको छानो उडाउँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानध्यापक टिकाराम पौडेलले जानकारी दिनुभयो । छानो मर्मतका लागि गाउँपालिकालाई पहल गरेको प्रधानाध्यापक पौडेलको भनाइ छ ।


