वीरेन्द्रनगर नगरपालिका–११ बालुवाटारकी ४२ वर्षीया बुद्धिसरा बैगारका पाँच छोरी र दुई छोरा गरी सात सन्तान छन् । उनीहरूमध्ये कसैले पनि माध्यमिक तहसम्मको पढाइ पूरा गरेका छैनन् । शिव माध्यमिक विद्यालय धुलियाविटबाट आधारभूत तहसम्मको अध्ययनपछि पढाइ नै छोडे । सबै छोरीहरूको विवाह भइसकेको छ भने दुई ओटा छोरा रोजगारीका लागि भारत गएका छन् ।
बालुवाटारमा अहिले २७ घरधुरी बसोबास गर्छन् । यहाँ बसोबास गर्ने अधिकांश बादी समुदायका विद्यार्थीहरू प्राथमिक तहमै पढाइ छोड्ने गरेको पाइएको छ । बालिकाहरूको विवाह गरिदिने र बालकहरू कम उमेरमै रोजगारीका विदेश जाने गरेका छन् । पढाइ छोडेर ज्याला मजदुरीका लागि भारत जाने गरेका छन् । गरिबीका कारण पढाइ पूरा गर्न समस्या हुने गरेको स्थानीय रत्ना बादीले बताउनुभयो । ‘घरखर्च टार्नकै लागि मजदुरी गर्न भारतमा जानुपर्ने बाध्यता छ । रोजगारी पाइदैन । खोलामा गिट्टी बालुवा सङ्कलन गर्ने काम पनि ठप्प छ’ उहाँले भन्नुभयो ।
स्थानीयबासी टिका गन्धर्वले आर्थिक अभावका कारण आफ्ना छोराछोरी शिक्षाबाट वञ्चित भइरहेको बताउनुभयो । ‘दिनभर खेलामा खेलेर बस्छन्,’ उहाँले भन्नुभयो, ‘हाम्रो आयश्रोत केही छैन । कसरी पढाउनु ?’ उहाँका पाँच छोराछोरीले पनि उच्च शिक्षा हासिल गरेका छैनन् । वषौँदेखि बस्दै जमिनसमेत आफ्नो नाममा नहुँदा आधारभूत सेवा लिनबाट पनि वञ्चित भइरहेको उहाँको भनाइ छ ।
बालुवाटारका २७ घरधुरी भएको बादी समुदायलाई एउटैखाले समस्या भोगिरहेका छन् । दिनभर ज्याला मजदुरी गरेपनि बेलुकाको खाना जुटाउन नै समस्या हुने गरेको स्थानीयबासी हिरा बैगारले बताउनुभयो । ‘चार छोरी, तीन छोरा छन् तर कसैलाई पढाएको छैन,’ उहाँले भन्नुभयो, ‘रोजगारी छैन, खानै पुग्दैन अनि कसरी पढाउनु ?’ पढ्न थालेका बालबालिका पनि बीचमै पढाइ छोड्न बाध्य भएको बैगारले बताउनुभयो । खर्च नपुगेर बीचमै पढाइ छोड्नुपरेको उहाँको भनाइ छ ।
आर्थिक अवस्था कमजोर भएकै कारण उच्च शिक्षाको पढाइबाट बालबालिका वञ्चित हुनुपरिरहेको छ । केही संघसंस्थाले पढाइमा सहयोग गर्ने आश्वासन दिएपनि त्यसलाई पूरा गर्न नसकेको उहाँहरुको गुनासो छ ।
बालुवाटार बस्तीनजिक विद्यालय छैन । जङ्गलको बाटो भएर धुलियाविटको शिव माध्यमिक विद्यालयमा पुग्नुपर्छ । दैनिक एक घण्टा विद्यालय आउने र जाने लाग्छ । टाढा भएकै कारण यो बस्तीका अधिकांश बालबालिका नियमित विद्यालय जाँदैनन् । बालुवाटारकी रमिला नेपाली विद्यालय जानै निकै कठिन हुने बताउनुहुन्छ । ‘हामीलाई विद्यालय जानै समस्या छ । असुरक्षा हुन्छ,’ नेपालीले भन्नुभयो, ‘जङ्गलको बाटो हिँड्नु पर्छ । धेरैजसो साथीहरू त्यही भएर पनि पढ्न जाँदैनन् ।’
यो बस्तीमा पाँचदेखि आठ कक्षा नपुग्दै विद्यालय छोड्ने बालबालिका करिब ५० जनाभन्दा बढी छन् । आर्थिक अवस्था र विद्यालय नजिक नहँुदा बालबालिकाले विद्यालय छोड्ने गरेको अभिभावकहरू बताउँछन् । रमिलाका अनुसार बस्तीका धेरैजसो युवाहरू रोजगारीको लागि भारत जान्छन् । यो बस्तीमा बाल विवाह पनि धेरै नै हुनेगरेको छ । आर्थिक अवस्था कमजोर हुनु, परिवारकै भूमिका बलियो नहुनु, सचेतनाको कमी लगायतले बीचमै पढाइ छोडने दर बढेको वडा नम्बर ११ का वडाअध्यक्ष खिमलाल देवकोटाले बताउनुभयो । बादी समुदायको समस्या समाधान गर्न आफुहरुसँग आवश्यक बजेट नभएको उहाँले गुनासो गर्नुभयो ।
उक्त बस्तीमा ९८ प्रतिशत दलित बादी समुदायकोे बसोबास छ । घना जङ्गल छेउ र खोलाको किनारमा बालुवाटार बस्ती छ । बालुवाटारका बासिन्दासँग खेती गर्नलाई थोरै जग्गा छ, बस्नलाई स–साना टहरा छन् । तर त्यो उनीहरूको होइन, किन कि घर जग्गा आफ्नो भएको जग्गा धनी प्रमाण पत्र (लालपुर्जा) उनीहरूसँग छैन । ‘हाम्रो मुख्य समस्या यही हो, पुर्खाैंदेखि भोगचलन गर्दै आएको जमिन हाम्रो नाममा छैन । हामीलाई सरकारले कहिलेसम्म सुकुमबासी नै बनाइराख्ने हो खै ?,’ स्थानीय शान्ति रोकायाले गुनासो गर्दै भन्नुभयो ।
करिब एक बिगाहा क्षेत्रफलमा २७ घर अटाएका छन् । एक सय ५० जनसङ्ख्या छ । ४१ वर्षदेखि यो बस्ती यसरी नै कोचिएको छ । तर वर्षाैंदेखि पसिना बगाएर खोस्रिएको ठाउँ आफ्नो नाममा छैन । जग्गाको स्वामित्व आफ्नो होला कि भन्ने आशमा दुई दशकदेखि स्थानीय बसिरहेका छन् । बालुवाटार बस्न थालेदेखि भूमिहीनलाई जग्गा उपलब्ध गराउन भन्दै पटक–पटक भूमि आयोग र समितिहरू बने । तर लालपुर्जा हातमा नपर्दा आफ्नै जग्गाको मालिक हुनबाट यहाँका स्थानीय वञ्चित भएका छन् ।
