बागलुङको काठेखोला गाउँपालिका– १ पालाकी १७ वर्षीया बालिकालाई यातना दिएर हत्या गरेको आरोपमा १७ वर्षीय पति र ३७ वर्षीया सासुलाई प्रहरीले जेठ २ गते गिरफ्तार गरेको छ ।
०८० जेठ १ गते साँझ घरमा झुण्डिएको अवस्थामा फेला परेकी बालिकालाई परिवारले धौलागिरी अस्पताल बागलुङ ल्याएका थिए । चिकित्सकले बालिकालाई मृत घोषणा गरेका थिए ।
बालिकाको कोठाबाट पति र उनको परिवारले दिएको यातना सहन नसकी आत्महत्या गरेको सुसाइड नोट फेला परे पनि कुटपिट र यातना दिएर हत्या गरी झुण्डाइएको भन्दै माइती पक्षले प्रहरीमा जेठ ३ गते उजुरी दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी विजय यादवका अनुसार मृतकका पति र सासुलाई जेठ २ गते धौलागिरी अस्पतालबाटै नियन्त्रणमा लिइएको हाे ।
बालिकाको शवलाई पोस्मार्टमका लागि पोखरा पठाइने भएको छ । धौलागिरी अस्पताल बागलुङमा पोष्टमार्टमका लागि दक्ष जनशक्ति नभएकाले शवको पोस्मार्टमका लागि पोखरा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।