INSEC Online

📅 २०८३ जेष्ठ २१

डढेलोले खाने पानी पाइपमा क्षति, रामेछापमा खाने पानीको अभाव

जङ्गलमा लागेको आगोले खाने पानीका पाइप जल्दा रामेछापमा खाने पानीको अभाव भएको छ ।

मन्थली नगरपालिका–१ दाहालगाउँमा वितरण हुने खाने पानी पाइप डढेलोमा जलेपछि नागरिकहरू खाने पानीबाट वञ्चित भएका हुन् ।  २०८१ वैशाख २२ गते जङ्गलमा लागेको डढेलोले खाने पानीको पाइप जलेपछि त्यहाँका ४० घर परिवारलाई खाने पानीको समस्या भएको हो ।

मन्थली नगरपालिका–१ खोक सामुदायिक वनमा लागेको डढेलोले दाहाल गाउँ, नालामी टोल लगायतका वस्तीमा वितरण गरिएको खाने पानीको पोलिथिन पाइप जलेर नष्ट भएको छ ।

मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाई समितिका व्यवस्थापक जगदीश सुवेदीले आगलागीले पोलिथिन पाइप  जलेर पूर्णरुपमा नष्ट भएको जानकारी दिनुभयो । समितिले तत्काल पाइप जोड्न नसक्दा खानेपानी वितरणमा समस्या भएको उहाँले बताउनु भयो ।

डढेलोको कारण मन्थली नगरपालिकाका विभिन्न वस्तीमा पानी लगिएको पाइप जलेका छन् । पाइप जलेका कारण खानेपानी पुर्‍याउन समस्या भएको भन्दै उपभोक्ताबाट ठुलो मात्रामा पाइपको माग आएको मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले बताउनु भयो । नगरपालिकासँग पर्याप्त पाइप नहुँदा माग अनुसारको पाइप दिन  नसकिएको उहाँले जानकारी दिनुभयो ।

मन्थली नगरपालिकामा मात्र नभइ आगलागीका कारण रामेछाप नगरपालिका तथा खाँडादेवी गाउँपालिकामा पनि धेरै पाइप जलेका छन् । जसले गर्दा खाने पानीको आपूर्ति प्रभावित भएको छ ।

नेपालको संविधानले खाने पानीको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेको छ । संविधानको धारा ३५ को स्वास्थ्य सम्बन्धी अधिकारको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने छ भनिए पनि रामेछापका नागरिक उक्त अधिकारबाट वञ्चित भएका छन् ।

अन्य

भिडियो