विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष बितिसक्दा समेत तत्कालिन नेकपा माओवादी र सुरुक्षाकर्मीहरुले बेपत्ता बनाएका व्यक्तिहरुको स्थिति सार्वजनकि गर्ने, पीडित परिवारलाई राहत, परिपूरण तथा न्यायसम्बन्धी कुनै पनि कार्य राज्यबाट हुन नसक्दा आफरुहरुले न्याय पाउन नसकेका बेपत्ता पारिएका व्यक्तिहरुका परिवारहरुले गुनासो गर्नुभएको छ ।
द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिहरुका परिवारहरुको अवस्था दयनीय बन्दै गएको छ । घरमा कमाउने घर मुलीलाई नै बेपत्ता बनाएपछि पीडित परिवारको आर्थिक, सामाजिक, पारिवारिक तथा मानसिक अवस्था दिनप्रतिदिन खस्किदै गएको छ ।
कैलाली जिल्ला साविकको निगाली गाउँपालिका—६ निगाली निवासी धनगढी उपमहानगरपालिमा—५ जाईमा बस्दै आइरहनु भएकी पदमा बम पतिलाई बेपत्ता बनाएदेखि एकल जिवन बिताइरहनु भएको छ । घरमा कमाउने व्यक्तिलाई तत्कालिन नेकपा माओवादीका कार्यकर्ताहरुले घरबाट अपहरण गरी बेपत्ता बनाएदेखि उहाँको परिवारमा आर्थिक संकट उत्पन्न भई साँझबिहानको छाक टार्न समेत धौधौ परको छ ।
दैनिक ज्यालादारीमा काम गर्दै आएको भए पनि निरन्तर रुपमा काम नपाउदा परिवार पाल्न, छोराछोरी हुर्काउन, उनीहरुको पढाइ तथा उपचार खर्च र लत्ता कपडाको जोह गर्न धेरै समस्या भएको द्वन्द्वपीडित पदमा बमले दुखेसो पोख्नु भयो ।
२०६० जेठ ५ गते तत्कालिन माओवादी कार्यकर्ताले चामल ओसार्न जानु छ भनेर पतिलाई घरबाट लिएर गएको २० वर्ष बितिसक्दा पनि उहाँको अवस्थाका बारेमा कुनै सूचना पाउन नसकेको पीडित पदमाको भनाइ छ ।
बेपत्ता पारिएका गणेशबहादुर बम गाउँमा शिक्षित बुद्धिजिवीको रुपमा चिनिने पेसाले नीजि विद्यालयका शिक्षक तथा नेकपा एमालेका गाउँ कमिटि सचिव हुनुहुन्थ्यो ।
घटना हुँदाको समयमा सात वर्षकी छोरी र पाँच वर्षको छोरा अहिले स्नातकोत्तर र स्नातक पढिरहेका छन् । पति बेपत्ता भएको तीन चार वर्षपछि आफन्तको सहयोगमा धनगढीमा बसाई सरेर आउनुभएको पीडित पदमा बम ज्यालादारीमा काम गर्दै छोराछोरीको लालनपालन, शिक्षा, स्वास्थ्य र घर खर्च चलाउदै आउनुभएको छ ।
राज्यले हालसम्म कुनै पनि प्रकारको सहयोग, राहत तथा परिपूरणको व्यवस्था नगरेका कारण पनि आफूहरुले दिनप्रतिदिन आर्थिक संकटसँग जुध्नुपरेको पीडित बलमे बताउनु भयो ।
कैलाली जिल्ला साविकको उदासीपुर गाउँपालिका–७ हाल कैलारी गाउँपालिका–८ दुधियाकी ४८ वर्षीया द्वन्द्वपीडित कृष्णी चौधरी पारिवारिक, आर्थिक तथा सामाजिक रुपमा विक्षिप्त अवस्थामा एकल जिवन जिउन बाध्य हुनुभएको छ ।
२०५८ फागनु २७ गते ३० वर्षीय पति बिनोदकुमार चौधरीलाई नेपाली सेनाको टोलीले रामशिखरझालाबाट गिरफ्तार गरी बेपत्ता बनाएदेखि नै पीडित कृष्णा चौधरीले पारिवारिक, आर्थिक तथा सामाजिक समस्या भोग्दै आउनु भएको छ । सेनाले गिरफ्तार गरी कैलाली जिल्लाको तेघरी व्यारेकमा राखिएको थियो । पतिलाई गिरफ्तार गरी बेपत्ता पारिएको झण्डै २२ वर्ष बितिसक्दा पनि उहाँको अवस्थाका बारेमा आफूले कुनै जानकारी पाउन नसकेको पीडित कृष्णीको गुनासो छ ।
उहाँले भन्नुभयो– ‘पति बेपत्ता भएदेखि पारिवारिक तथा आर्थिक समस्याका साथै सामाजिक भेदभाव पनि सहन बाध्य भए । ससुराको मृत्यु भइसकेको छ । उहाँको नाममा भएको जग्गाको अंशवण्डा नहुँदा थप आर्थिक समस्या खेप्नु परिरहेको छ । माइला देवरले ससुराको नाममा रहेको लालपुर्जा बैङ्कमा राखेर ऋण निकाल्नु भएको छ । बैङ्कको व्याज तिर्न नसक्दा बैङ्कले कुन दिन जग्गा लिलाम गर्छ थाहा छैन ।’
बिनोदकुमार चौधरीलाई सेनाले गिरफ्तार गरी तेघरी व्यारेकमा राखिएको समयमा माओवादी भएको आरोपमा कैलारी गाउँपालिका–६ का अनिल चौधरी र बर्दगोरिया गाउँपालिका–७ की आशा चौधरीलाई पनि सेनाले सोही व्यारेकमा राखेका थिए । २०५९ जेठ १६ गतेसम्म पीडितलाई तेघरी व्यारेकमै राखिएको भए पनि त्यसपछिका दिनदेखि उहाँको अवस्था अज्ञात भएको तेघरी व्यारेकबाट छुटेका आशा चौधरी र अनिल चौधरीले आफूलाई बताएको पीडित कृष्णी चौधरीको बताउनु भयो । हालसम्म पनि बेपत्ता पारिएका कृष्णी चौधरीका पति बिनोद चौधरीको अवस्था सार्वजनिक हुन सकेको छैन् ।
गौरीगंगा नगरपालिका–५ अण्डौयाकी ७० वर्षीय पदमा दमाईकी १३ वर्षीया छोरी कुमारी दमाईलाई सुरक्षामर्कीहरुले घरबाटै गिरफ्तार गरी बेपत्ता बनाएको झण्डै २२ वर्ष बितिसकेको छ । अहिलेसम्म कुमारी दमाईको अवस्था अज्ञात छ । छोरीलाई गिरफ्तार गरी बेपत्ता पारेदेखि चिन्ताका कारण पतिको पनि मृत्यु भयो । पतिको मृत्यु भएदेखि घरव्यवहार चलाउन समस्या भएको पीडित पदमा दमाईले दु:खेसो पोख्नु भयो ।
आर्थिक अभावका कारण हाल पदमा दमाई एक कठ्ठा ऐलानी जमिनमा चुहिने सानो टहरामा एकल जिवन बिताउदै आउनु भएको छ । उहाँको घरमा काम गर्ने व्यक्ति नहुँदा उहाँलाई साँझबिहानको छाक टार्न समेत समस्या छ ।
पदमा दमाईकी छोरी कुमारी दमाई माओवादी कार्यकर्ता भएको आरोपमा सुख्खड वेसक्याम्पबाट आएको संयुक्त सुरक्षाफौजको टोलीले २०५९ असोज ९ गते घरबाट गिरफ्तार गरी बेपत्ता बनाएको थियो ।
पदमा बम, कृष्णी चौधरी र पदमा दमाई एक प्रतिनिधि पात्र मात्रै हुन् । कैलाली जिल्लामा द्वन्द्वको बेलामा १३ जनालाई बेपत्ता पारिएको तथ्याङ्क इन्सेकमा अभिलेख छ । इन्सेकले तयार पारेको द्वन्द्व पीडित पाश्र्वचित्रमा कैलाली जिल्लामा मात्रै १९ जनाको अङ्गभङ्ग भई शारीरिक रुपमा अपाङ्गता भएका र ४ सय २० जनाको हत्या गरिएको उल्लेख छ ।
विस्तृत शान्ति सम्झौताको अनुसूची चारमा द्वन्द्वरत पक्षबाट बेपत्ता पारिएका व्यक्ति तथा युद्धको समयमा मारिएकाहरुको वास्तविक नाम, थर र ठेगाना विस्तृत शान्ति सम्झौता भएको मितिले ६० दिन भित्र सार्वजनिक गरी परिवारजनलाई समेत जानकारी गराउने उल्लेख गरिएको भए पनि विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष बितिसक्दा समेत बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक हुन सकेको छैन ।