भारतसँग सीमा जोडिएको जिल्ला सदरमुकाम खलंगास्थित पुलघाट नाकामा रहेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले सात महिनादेखि तलब सुविधा पाउनबाट वञ्चित भएका छन् । चालू आर्थिक वर्षको कात्तिक महिनादेखि पुलघाट नाकामा कार्यरत स्वास्थ्यकर्मीहरु तलब सुविधा पाउनबाट वञ्चित हुनुभएको हो ।
नाकामा बिना पारिश्रमक काम गरिरहेका उनीहरु तलब आउने र नआउने सुनिश्तिता नहुँदा निराश बनेका छन् । ‘कात्तिक महिनादेखि तलब पाएका छैनौँ, यत्तिका महिना रित्तो हात रहँदा घर खर्च धान्न धौधाै भइसक्यो, हेल्थडेस्कमा कार्यरत अहेव निरु जोशीले भन्नु भयो– ‘बिना तलब ६ घण्टा सीमामा खटिएर काम गरिरहेका छौँ ।’ जिल्लाको पुलघाट हेल्थडेस्कमा तीन जना स्वास्थ्यकर्मी कार्यरत छन् ।
पुलघाट हेल्थडेस्कमा कार्यरत अनमी ज्योति जोशीले बजेट अभाव देखाएर आफूहरुलाई तलब उपलब्ध नगरिएको बताउनु भयो । ‘सम्बन्धित निकायमा खबर गर्दा बजेट निकासा भएको छैन् भन्ने जवाफ आउँछ,’ जोशीले भन्नु भयोे–‘अहिलेसम्म आफ्नो डिउटी गर्दै आइरहेका छाैँ, महिनौँदेखि तलब नपाउँदा दैनिकी चलाउन समस्या भइसक्यो ।’ साउन, भदौ र असोज महिनाको मात्रै तलब पाएको उहाँले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेशमा कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर र टीकापुर, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट गरी पाँच ओटा हेल्थ डेस्क स्थापना गरिएको थियो ।
पुलघाट हेल्थ डेस्कमा पाँच जना स्वास्थ्य कर्मचारी कार्यरत छन् । जसमध्ये दुई जना स्वास्थ्य कार्यालयबाट तलब पाउने गरेर कार्यरत छन् । उहाँहरुको मात्रै नियमित रुपमा पारिश्रमिक आइरहेको स्वास्थ्य कार्यालय, दार्चुलाले जनाएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको बजेट अन्तर्गत भर्ना भएका अन्य तीन जनाको भने पारिश्रमिक आएको छैन् ।
स्वास्थ्य सेवा विभागबाटै बजेट निकासा नभएका कारण सुदूरपश्चिमका पाँच ओटै हेल्थ डेस्कमा करारमा कार्यरत स्वास्थ्यकर्मीहरु महिनाैँदेखि तलब विहीन छन् ।