INSEC Online

📅 २०८३ जेष्ठ २१

सुरक्षा गार्डको हत्या घटनाका आरोपित गिरफ्तार

सप्तकोशी नगरपालिका-१ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडभित्र सो बैंकका सुरक्षा गार्ड सप्तकोशी नगरपालिका-२ सिद्धिपुरका ५६ वर्षीय परशुराम फुयालको हत्या गरेको आरोपमा सप्तकोशी नगरपालिका-५ गंगाजलीका ३२ वर्षीय चन्द्र बहादुर सुवेदी ०८१ वैशाख २९ गते गिरफ्तार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा राप्ती नगरपालिका-१ लोथर चितवनबाट गिरफ्तार भएका आरोपितलाई थप अनुसन्धान कार्यका लागि वैशाख ३० गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याइएको डिएसपी ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो । मधेस प्रदेश प्रहरी कार्यालयबाट खटिएको तालिम प्राप्त कुकुरसहितको प्राविधिक अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय सप्तरी समेतको संयुक्त अनुसन्धान टोलीले बैंकमा रहेको सीसीटिभी फुटेजको अध्ययन गरी उक्त घटनामा संलग्न रहेका आरोपित सुवेदीलाई गिरफ्तार गरिएको नेउपानेले बताउनु भयो । आरोपितलाई वैशाख ३० गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

प्रहरीले हत्या घटनामा प्रयोग भएको खुकुरी, झोला, जुत्ता, पञ्जा, सेन्डो गञ्जी, टोपी र सल, घटनामा प्रयोग भएको हेक्सो ब्लेड, रेञ्ची, पिलास, डोरी, रड र वारदात स्थलमा प्रयोग गरेको काठ समेत बरामद गरेको छ ।

फुयालको शव वैशाख २७ गते बिहान धारिलो हतियारले हत्या गरेको अवस्थामा बैंकभित्र फेला परेको थियो । वैशाख २७ गते बिहान ७ बजेसम्म पनि सुरक्षा गार्डको कोठा नखुलेपछि बैंकका कर्मचारीलाई शङ्का लागेर ढोका खोलेर हेर्दा उहाँ मृत अवस्थामा फेला पर्नुभएको थियो । बैंकको सीसीटीभी फुटेज हेर्दा राती करिव १२ बजेपछि नकावधारी आरोपित बैंकभित्र पसेर हत्या गरेको देखिन्छ । प्रहरीका अनुसार आरोपित सुवेदी मृतक फुयालका कान्छो ज्वाइँतर्फका नातेदार (ज्वाइँ) हुन् । आरोपित सुवेदीका बुबा-आमा, पत्नी, एक वर्षीया छोरी र पाँच वर्षीय छोरा छन् ।

शवको पोष्टमार्टमका लागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा वैशाख २८ गते पठाइएको सप्तरी प्रहरीले जनाएको छ । नेपाली सेनाबाट सेवा निवृत्त भएपछि फुयाल विगत आठ वर्षदेखि निरन्तर सुरक्षा गार्डको रुपमा कार्यरत थिए । मृतक फुयालका एक पत्नी, दुई छोरा र दुई छोरी छन् ।

सशस्त्र प्रहरीमा कार्यरत आरोपितले ०७९ मै जागिरबाट राजिनामा दिएको पाइएको छ । स्थानीयका अनुसार ऋणमा चुर्लुम्मै डुवेका सुवेदीले पैसा फिर्ता गर्न नसकेपछि कतिपयले सामाजिक सञ्जालमै उनको नाम र फोटो सार्वजनिक गर्दै कानुनी प्रक्रियामा जाने धम्की दिएका थिए । ऋण तिर्न नसकेपछि मानसिक रुपमा विक्षिप्त आरोपित घरमा बस्ने, झोक्राउने र छरछिमेकमा पनि खुलेर कुराकानी गर्न छोडेका थिए ।

अन्य

भिडियो