१६ वर्षीया बालिकालाई अपहरण गरी बेपत्ता बनाएको आरोपमा फरार रहेका सुरुङ्गा नगरपालिका-५ कुशहाका ४७ वर्षीय आमिन भनिने यामिन मलङ्ग हाजिर भएपछि ०८१ वैशाख २४ गते साधारण तारेखमा रिहा भएका छन् ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश संजिब पोखरेलको इजलासबाट आरोपित पुर्पक्षका लागि साधारण तारेखमा रिहा भएको अदालतले जानकारी दिएको छ ।
बालिकालाई २०८० साउन १० गते राति साढे ११ बजे सुरुङ्गा नगरपालिका-५ कुशहाका २२ वर्षीय अरवाज अली, निजको दाजु २५ वर्षीय अलताफ अलीलगायतले बेपत्ता बनाएको भन्दै हजुरबुबाले इलाका प्रहरी कार्यालय कडरबोनामा भदौ १ गते उजुरी दिनुभएको थियो । एक्लै घरकोठामा सुतेकी बालिकालाई अरवाज अली र निजको दाजु अलताफ अली घरमा प्रवेश गरी धाकधम्की दिई धारिलो हतियार देखाई अपहरण गरी निजहरूका बुबा ४७ वर्षीय आमिन भनिने यामिन मलङ्ग र निजकी पत्नी ४२ वर्षीया मिनिया खातुनको सहयोगमा बेपत्ता बनाएको पीडितका हजुरबुबाले आरोप लगाउनु भएको छ ।
इलाका प्रहरी कार्यालय कडरबोनामा व्यक्ति वेपत्ता पारेको उजुरी भदौ ३ गते दर्ता भएको छ । चारैजना विरुद्ध भदौ ३ गते पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला अदालतमा ०८० माघ २ गते अभियोग पत्र दायर भएको थियो । पीडित र अन्य आरोपितहरू हालसम्म फेला परेका छैनन् ।