बलात्कार घटनाका पीडित १६ वर्षीया बालिकालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८१ वैशाख २५ गते आर्थिक सहयोग प्रदान गरेको छ ।
इन्सेकका मधेस प्रदेश संयोजक राजु पासवान, बरियारपट्टी गाउँपालिका उपाध्यक्ष ममता कुमारी यादव, वडा अध्यक्ष बिनोद कुमार यादव, प्रलेख अधिकृत मोहनकुमार चौधरीले संयुक्त रुपमा पीडित परिवारलाई १० हजार रुपियाँ चेक मार्फत हस्तान्तरण गर्नु भयो ।
पीडितलाई १५ वर्षीय बालकले ०८० माघ ९ गतेदेखि पटक पटक बलात्कार गरेको र बालिका १२ हप्ताको गर्भवती भएको जानकारी भएपछि जिल्ला प्रहरी कार्यालय सिरहामा ०८१ वैशाख १ गते उजुरी दिएको पीडित पक्षले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा वैशाख १ गते भयो ।
घटनाको जानकारी हुनासाथ आरोपितलाई वैशाख १ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी मुक्तिनाथ सापकोटाले बताउनु भयो ।
इन्सेकका मधेस प्रदेश संयोजक राजु पासवानले पीडितको आर्थिक अवस्था कमजोर रहेको र पीडित गर्भवती समेत रहेकोले उहाँलाई पोषिलो खाना तथा स्वास्थ्य उपचारका साथै न्यायको लागि कानुनी प्रक्रियामा अगाडि बढ्न मद्दत हुने विश्वासका साथ आर्थिक सहयोग गरेको बताउनु भयो ।
त्यसैगरी, संयोजक पासवानले जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर उदयभान द्धिवेदीसँग भेटघाट गरी पीडितको कानुनी उपचार र जिल्लाको मानव अधिकार अवस्था बारे छलफल गर्नु भयो ।