INSEC Online

📅 २०८३ जेष्ठ २१

आगलागीबाट १८ घर जलेर नष्ट, सामुदायिक र कबुलियत वनहरू गरी ४२ ठाउँमा आगलागी

काभ्रेपलाञ्चोक जिल्लाका विगत तीन महिनाको अवधिमा सामुदायिक र कबुलियत वनहरू गरी ४२ ठाउँमा आगलागी भएको छ । आगलागीबाट १८ ओटा घर जलेर नष्ट भएका छन् ।

 महाभारत गाउँपालिका–४ गोस्डाँडामा लागेको आगो अनियन्त्रित भई सुजन रानामगर लगायत तीन जनाको घर जलेको छ भने  रोशी गाउँपालिका–४ स्थित सानोपोटा गाउँमा आगलागी हुँदा १५ ओटा घर जलेर नष्ट भएका छन् ।

घर जलेर नष्ट भएकाहरूलाई हाल बसोवासमा समस्या परेको छ । जिल्ला विपद् व्यवस्थापन समिति र केही संघ संस्थाहरूको सहयोगमा उद्धार र सहयोगका कार्यक्रम सञ्चालन गरि रहेका छन् ।

वन क्षेत्रमा आगलागीका घटना बढेसँगै आगजनीमा संलग्नहरू गिरफ्तारीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय, धुलिखेलले ०८० चैत २८ गतेदेखी हालसम्म आगो लगाउने मध्ये पाँच जनालाई गिरफ्तार गरी तीन जनालाई वन मुद्दा चलाएको छ । गिरफ्तार हुनेहरूमा मण्डनदेउपुर नपा–११ का ३१ वर्षीय मैते तामाङ, पाँचखाल नपा– ५ का २५ वर्षीय विकास भुजेल र सविन सुनार रहेका छन् ।

 वन कर्मचारी प्रतिको बदलाको भावना, जङ्गलमा घाँस पलाउने धारणा, वनमा रहेका बोटबिरुवामा राम्रो फल फल्ने आशा र चोरी सिकारीले जङ्गली जन्तुको सिकार गर्न सहज वनाउने उद्देश्यले जिल्लाका वनहरूमा डढेलो लगाउने गरिएको डिभिजन वन कार्यालयले दावी गरेको छ ।

सामुदायिक वनमा डढेलो लाग्न नदिन डिभिजन वन कार्यालयले विभिन्न स्थानमा चेतनामूलक होडिङबोर्ड राख्नुका साथै डढेलोबाट हुने बेफाइदा, नोक्सानी र कानुनी व्यवस्थाका बारेमा प्रचारप्रसार गर्दै आएको जनाएको छ ।

अन्य

भिडियो