१५ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कटारी नगरपालिका-४ मरूवाका ४४ वर्षीय बाबुलाई १६ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको ०८१ वैशाख २० गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ५ लाख ४० हजार रुपियाँ जरिबाना, ३० हजार रुपियाँ क्षतिपूर्ति र २ हजार २ सय रुपियाँ पीडित राहत कोषमा कसुरदारबाट जम्मा गर्न आदेश भएको अदालतका श्रेस्तेदार भेषराज भट्टराईले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७९ माघ ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ १२ गते इलाका प्रहरी कार्यालय, कटारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई प्रहरीले माघ १२ गते गिरफ्तार गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् अदालतमा ०७९ फागुन २ गते हाडनाता करणी शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद सुवेदीको ०७९ फागुन ३ गतेको इजलासले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ माघ १२ गते गरिएको थियो ।