INSEC Online

📅 २०८३ जेष्ठ २१

२४ दिनसम्म शव अस्पतालमै, विशेषज्ञबाट पोष्टमार्टम गर्न अदालतको आदेश

गत चैत २९ गते कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी दैलेख जिल्लाकाे आठबिस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा गुरुङ बलामीको शव विशेषज्ञबाट परीक्षण गराउन जिल्ला अदालतले आदेश दिएको छ ।

जिल्ला अदालतले ०८१ वैशाख २१ गते उठाइएको विषयवस्तुको गम्भीरता र संवेदनशीलतालाई हेर्दा शव परीक्षण फरेन्सिक मेडिसिनका विशेषज्ञबाट यथाशीघ्र गर्नु उचित देखिएको अदालतले आदेश दिएको छ ।

मृतककी ससुरा धन मगरले जिल्ला अदालतमा घटना शङ्कास्पद रहेको भन्दै ०८१ वैशाख १६ गते अन्तरकालीन आदेश माग गरी जिल्ला अदालतमा निवेदन दर्ता गराउनुभएको थियो ।

अदालतमा दायर भएको मुद्दामा कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का, उपचारमा संलग्न डा. ललितजंग शाही लगायतलाई विपक्षी बनाइएको थियो ।

‘कर्णाली प्रदेश अस्पतालमा कार्यरत चिकित्सक बाहेक फरेन्सिक मेडिसिनका विशेषज्ञ चिकित्सकलाई र मृतकको एक जना प्रतिनिधिलाई संलग्न नगराई मृतकको शव परीक्षण गर्ने कार्य नगर्नु, नगराउनु भनी मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ र जिल्ला अदालत नियमावली, २०७५ को नियम ३४ बमोजिम अन्तरकालीन आदेश जारी गरिदिएको छ ।’ जारी अदालतको फैसलामा भनिएको छ ।

‘साथै यस अदालतबाट  वैशाख ८ गते फिरादी, निजको छोरा, मृतकका पति, फिरादीका आफन्त र सहयोगीलाई सुरक्षाको आवश्यक प्रवन्ध मिलाउनु भनी जारी भएको अल्पकालीन अन्तरकालीन आदेशलाई निरन्तरता दिन अदालतले भनेको छ ।

पेट दुखेपछि ०८० चैत २८ गते उपचार गर्न प्रदेश अस्पताल पुगेकी भीमालाई अस्पतालले उपचार गर्दा गर्दै मृत्यु भएपछि २९ गते मृत घोषणा गरिदिएको थियो । सामान्य अवस्थामा अस्पताल आएकी भीमाको मृत्यु भएपछि आफन्तले अस्पतालको लापरवाही भएको आरोप लगाउँदै निष्पक्ष छानबिन समिति बनाई दोषीमाथी कारबाही, आठ महिने छोरीको पालनपोषण, शिक्षा र पीडित परिवारको एक जनालाई रोजगारी र उचित क्षतिपूर्तिको माग राख्दै आफन्तले एक हप्तासम्म आन्दोलन गरेका थिए ।आफन्तले राखेका माग पुरा गर्न अस्पताल, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकार तयार नभएपछि भीमाको शव अस्पतालमै छाडेर घर फर्किएका थिए ।

यस विषयमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पीडित परिवार र सम्बन्धित निकायसँग उक्त घटनाको विषयमा जानकारी लिएको थियो । मृतक भीमाको शव २४ दिनदेखि अस्पतालको शवगृहमा नै राखिएको छ ।

पीडित परिवारको तर्फबाट अधिवक्ता शेरबहादुर खत्री, उपेन्द्र कुमार रावतले बहस गरेका थिए भने अस्पतालको तर्फबाट मुख्य न्यायधिवक्ताको कार्यालयका सहायक न्यायधिवक्ता कमल प्रसाद कोइरालाले बहस गर्नुभएको थियो ।

प्रदेश अस्पतालका मेडिकल रेकर्डर अधिकृत एवं सूचना अधिकारी विनोद बस्नेतले अदालतको आदेश आएपछि आवश्यक प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।

 

Photo20240504Surkhet

अन्य

भिडियो