INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको पहलमा एक युवकको उद्धार

Photo 20240430 Janakpurdham

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको पहलमा जनकपुरधाम उपमहानगरपालिका–१७ मनहरपुरका २२ वर्षीय रामविनय महरालाई कृष्ण मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर जनकपुरधामबाट ०८१ वैशाख १८ गते उद्धार गरिएको छ ।

पीडित महरालाई वैशाख १८ गते इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानको पहलमा मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष कैलाश दास, राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत रेखा दत्त, स्वास्थ्य मन्त्रालयका सन्तोष ठाकुर, मुजेलिया प्रहरी चौकीका इन्चार्ज प्रमोद कुमार साह, इन्सेक धनुषा जिल्ला प्रतिनिधि सन्तोष कुमार यादव लगायतका मानव अधिकारकर्मी र पत्रकारको सहयोग तथा समन्वयमा उद्धार गरेका छन् ।

०८० चैत १४ गत मोटरसाइकल दुर्घटनामा परी टाउकोमा चोट लागी घाइते भएका महारालाई उपचारको लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो । तर, प्रादेशिक अस्पतालमा महराको उपचार सम्भव नभएपछि उहाँ जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ स्थित कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टरमा भर्ना गरिएको थियो ।

दलित तथा विपन्न परिवारका महरा उपचार खर्च तिर्न नसक्दा विगत ३५ दिनदेखि बन्धकको अवस्थामा अस्पताल मै थिए । उपचार खर्च जुटाई वा बन्धकबाट मुक्त गरिदिनका लागि पीडितका आमा प्रमिला महराले इन्सेकको मधेश प्रदेश कार्यालयमा निवेदन दिएकी थिइन । निवेदनकै आधारमा इन्सेकका प्रदेश संयोजक राजु पासवानले पहल गरेपछि उहाँको उपचार खर्च मिन्हा गरी मुक्त गराएका छन् ।

घाइते रामविनय महराको उपचार खर्च वापत ४ लाख ५० हजार रुपियाँ तिर्नु पर्ने भएपनि पीडित पक्षले १ लाख ४० हजार रुपियाँ बुझाएको छ । इन्सेकको पहलमा तिर्न बाँकी रहेका ३ लाख १० हजार रुपियाँ अस्पताल प्रशासनले छुट गरेको छ ।

पीडितलाई उद्धार गरी परिवारजनको जिम्मा लगाई घर पठाएको इन्सेक प्रदेश संयोजक पासवानले जानकारी गराएका छन् ।

Photo 20240430 Janakpurdham 1

Photo 20240430 Janakpurdham 2

अन्य

भिडियो