जिल्ला अस्पताल, बाजुरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएकी बडिमालिका नगरपालिका–७ जिल्लीकी आठ महिनाकी गर्भवती ४५ वर्षीया जैकला जैशी जिल्ला अस्पताल, बाजुरामै अलपत्र पर्नुभएको छ ।
जिल्ला अस्पतालले थप उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरेको भए पनि आर्थिक अभावका कारण ऐम्बुलेन्सको भाडा रकम जुटाउन नसक्दा गर्भवती जैशी जिल्ला अस्पतालमै अलपत्र अवस्थामा बस्नुपरेको हो ।
जैकला मुटुकी बिरामीसँगै आठ महिनाकी गर्भवती हुनुहुन्छ । गत मङ्सिर महिनामा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा जैशीको मुटुको शल्यक्रिया गरिएको थियो । मुटुको शल्यक्रिया गरेकी जैशीको स्वास्थ्यमा पुनः समस्या आएपछि ०८१ वैशाख ७ गते जिल्ला अस्पताल, बाजुरामा ल्याएको उहाँका पति मोहनलाल जैशीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘म आफै अशक्त छु । ऋिण काढेर पत्नीको मुटुको शल्यक्रिया गराए । अहिले पुनःस्वास्थ्यमा समस्या आयो । डाक्टरले सुबिधा सम्पन्न अस्पतालमा लैजानु भन्नु भएको छ । तर, आर्थिक अभावका कारण समस्या भयो । गाडीभाडा समेत जुटाउन नसकेको अवस्था छ ।’
अस्पतालले गर्भवतीसँगै मुटुको बिरामी भएका कारण जिल्ला अस्पताल, बाजुरामा उपचार सम्भव नभएको र सुविधा सम्पन्न अस्पतालमा लैजान भनेपछि पत्नीको ज्यान जोगाउनका लागि पति मोहनलाल सदरमुकाम मार्तडीमा आर्थिक रकम जुटाउन बिभिन्न सहयोगी निकायमा धाउने गरेका छन् ।
बडिमालिका नगरपालिकाको एम्वुलेन्सले डडेल्धुरासम्म पुर्याउन ८ हजार रुपियाँ भाडा लाग्ने बताएको तर आफूसँग एम्बुलेन्स भाडामा लिन नसक्दा अस्पतालमै पत्नीलाई अलपत्र अवस्थामा राख्नु परेको पीडितका पति मोहनलालको भनाइ छ ।
जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि स्वास्थ्य सेवा विभागले कार्यक्रम सञ्चालन निर्देशिकामा अस्पताल तथा वर्थिङ सेन्टरहरुबाट गर्भवती तथा सुत्केरीलाई आकस्मिक रुपमा प्रेषणसम्बन्धी बजेटको व्यबस्थापन गरेको छ ।
बडीमालिका नगरपालिकामा यो शीर्षक अन्तर्गत ६० हजार रकम रहेको छ । यसैगरी नेपाल सरकारले गर्भवती तथा सुत्केरीहरुका लागि निःशुल्क हवाइ उद्धारसम्बन्धी कार्यविधि २०७५ जारी गरेर निःशुल्क सेवा दिइरहेको छ । तर, डडेल्धुरा अस्पताल रेफर गरिएकी बडिमालिका नगरपालिका–७ जिल्लीकी आठ महिनाकी गर्भवती ४५ वर्षीया जैशी आर्थिक अभावकै कारण जिल्ला अस्पतालमा अपलपत्र अवस्थामा रहनु भएको छ ।
अस्पताल तथा वर्थिङ सेन्टरहरुबाट गर्भवती तथा सुत्केरीलाई आकस्मिक रुपमा प्रेषण शीर्षकमा नगरपालिकाले ६० हजार रुपियाँ बजेट विनियोजन गरेको र अस्पतालले रिफर गरेको प्रमाणका आधारमा उपचारपछि बिल पेश गरेमा बिरामीलाई रकम उपलब्ध गराउन सकिने बडिमालिका नगरपालिकाका स्वास्थ्य शाखा संयोजक टेकबहादुर खड्काले बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत्त बिदामा भएका कारण तत्काल आर्थिक सहयोग उपलब्ध गराउन सम्भव नभएको समेत उहाँले बताउनु भयो ।
जिल्ला अस्पताल, बाजुरामा आमा सुरक्षा कार्यक्रम अन्तरगत गर्भवती तथा नवजात शिशु प्रेषण र सामाजिक सुरक्षा ईकाई मार्फत जटिल खाले गर्भवतीलाई सहयोग उपलब्ध गराउन मिल्ने भए पनि कार्यक्रमले तोके अनुसारको सहयोग रकम मात्रै उपलब्ध गराउन सकिने र नीजि सवारी साधानमा लाग्ने थप भाडा रकम स्वयम बिरामीले बेहोर्नु पर्ने जिल्ला अस्पताल, बाजुराकी इन्डोर इन्चार्ज निशा रोकायले बताउनु भयो ।
जटिल खालका गर्भवती र सुत्केरीलाई सहयोग गर्नका लागि सरकारले बिभिन्न कार्यक्रम मार्फत सहयोग गर्दै आएको भए पनि जिल्ला अस्पतालमा अलपत्र अवस्थामा रहनुभएको जैशीले सहयोग पाउन सक्नु भएको छैन् ।
