INSEC Online

📅 २०८३ जेष्ठ २१

कास्कीका ३ सय विद्यार्थीले पठाए प्रधानमन्त्रीलाई पत्र

कास्कीका पाँच ओटा पालिकाका १५ ओटा सामुदायिक विद्यालयका ३ सय विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘मैले चाहेको शिक्षा’ शीर्षकमा वैशाख १६ गते पत्र पठाएका छन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ नेपाल) कास्की र नागरिक समाजको अगुवाइमा विद्यार्थीहरुले लेखेको छुट्टाछुट्टै पत्र आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई पठाइएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मार्फत नागरिक समाजका अगुवाहरु इन्सेकका शिव खकुरेल, गोनेसाका शिवप्रसाद शर्मा, महिला मानव अधिकार रक्षक सञ्जालकी केशु भुजेल, गैसस महासंघ गण्डकीका अध्यक्ष गोपाल खड्का लागायतको संयोजकत्वमा शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताहको अवसरमा पत्र पठाइएको हो ।

रुपान्तरणकारी शिक्षा आजको आवश्यकता रहेको शिक्षाका लागि राष्ट्रिय अभियान कास्कीका संयोजक गोनेसाका शिवप्रसाद शर्माले जानकारी दिनुभयो । विद्यार्थीले शिक्षामा राज्यको बजेट कम भएको र विद्यालयमा राजनीति बढी शिक्षा कम हुँदा शिक्षाको गुणस्तर खस्किएको आशयको पत्र लेखेका छन् । विद्यालय र सिकाइ केन्द्रहरूमा अनलाइन शिक्षा, विद्यालयको पाठ्यक्रममा समसामयिक पुनर्विचार, परिमार्जन र शिक्षालाई दैनिक जीवनसँग जोड्दै शिक्षालाई गुणस्तरीय बनाउन विद्यार्थीहरुले माग गरेका छन् । शिक्षालाई समावेशी, जीवन उपयोगी बनाउनुपर्ने माग विद्यार्थीको छ ।

‘विद्यार्थीहरुले पठाएको पत्र हामीहरुले अध्ययन गर्दा बजेट कम भएको र सरकारले बजेट वृद्धि गरि गुणस्तरीय प्रविधिमैत्री, व्यवहारिक शिक्षा हुनुमा जोड दिएको संयोजक शर्माले बताउनुभयो । शिक्षाका लागि राष्ट्रिय अभियान–नेपालले विद्यार्थीहरुलाई कस्तो शिक्षा आवश्यक छ भन्ने शीर्षकमा पत्र लेख्न आह्वान गरेको थियो ।  नेपालको सार्वजनिक शिक्षा सुदृढीकरणको अभियानमा क्रियाशील शिक्षाका लागि राष्ट्रिय अभियान तीनै तहका सरकारलाई जवाफदेही बनाउने उद्देश्यका साथ काम गर्दै आएको संयोजक शर्माले जानकारी दिनुभयो ।

शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताहको समयमा सञ्चालन गरिने क्रियाकलापहरुले शिक्षा क्षेत्रका विभिन्न सवाल तथा समसामयिक विषयहरुमा सरोकारवाला निकायहरुको ध्यानाकर्षण समेत गराउँदै आएको छ ।

photo 081117 kaski

अन्य

भिडियो