INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकद्वारा उपनिर्वाचन पूर्व अवस्थाका बारे सरोकारवालाहरुसँग छलफल

इन्सेकका महासचिव डाक्टर रगुनाथ अधिकारीको नेतृत्वको पर्यवेक्षण टोलीले बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा हुनगइरहेको उपनिर्वाचनको पूर्व अवस्थाका बारेमा ०८१ वैशाख १४ गते सरोकारवाला पक्षहरुसँग भेटघाट गरी छलफल गरेको छ ।

photo20240426bajhang (4)

इन्सेकका महासचिव अधिकारी नेतृत्वको अनुगमन तथा पर्यवेक्षण टोलीले जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछाने, प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेल, जिल्ला प्रहरी कार्यालय, बझाङका डिएसपी भरत शाह र शसस्त्र प्रहरी वलका डिएसपी जनकराज पन्तसँग भेटघाट गरी उपनिर्वाचन पूर्वको तयारीको अवस्था, निर्वाचन आचारसंहिताको पालनाको अवस्था, शान्तिसुरक्षा र जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा छलफल गरी सूचना संकलन गरेको हो ।

इन्सेकका महासचिव अधिकारीले निर्वाचनको स्वच्छता र निश्पक्षता कायम हुनु पर्ने, राज्यशक्तिको दुरूपयोग हुन नदिन सम्बन्धीत निकायहरु संवेदशिल हुन पर्ने र निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको भन्ने सूचनाहरु तथा गुनासोहरु आएकाले यस तर्फ सरोकारवाला पक्षहरु बढि जिम्मेवार र गम्भिर हुनु पर्ने घेटघाटका क्रममा बताउनु भयो ।

photo20240426bajhang (1)

छलफलमा बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले दल तथा उम्मेदवारहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पटकपटक ध्यानाकर्षण गराइएको बताउनु भयो । आचारसंहिता उल्लङ्घन भएको बारेमा कुनै उजुरी नआए पनि आफूहरूले अनुगमन समिति मार्फत र सुरक्षा निकायमार्फत आचारसंहिताको पालना गराउन ध्यानाकर्षण गराइएको उहाँले बताउनु भयो । निर्वाचनको स्वच्छता र निश्पक्षताको सबैले सम्मान गनु पर्ने भन्दै उहाँले वैशाख १२ गते रातिदेखि भएको मौन अवधिमा विशेष चनाखो रहनु पर्ने बताउनु भयो । मौन अवधिमा सुरक्षा निकायलाई बढि सचेत हुन निर्देशन दिइएको मुख्य निर्वाचन अधिकृत लामिछानेले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले प्रदेश सभा सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचनलाई निश्पक्ष, भयरहीत बनाउन निर्वाचन आचारसंहिताको पालनामा ध्यानाकर्षण गराइएको बताउनु भयो । निर्वाचनको क्रममा मतदाता, उम्मेदवार र कर्मचारीहरूको सुरक्षामा कुनै समस्या नआउने गरी सुरक्षा प्रवन्ध गरिएको समेत प्रमुख जिल्ला अधिकारी कुइकेलले बताउनु भयो ।

photo20240426bajhang (2)

इन्सेकका महासचिव अधिकारीले नेत्तुत्व गर्नुभएको निर्वाचन पर्यवेक्षण टोलीमा इन्सेकका सदस्य नरनाथ लुइरेल, इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशी र इन्सेक जिल्ला प्रतिनिधि सत्यराज सिंहको सहभागिता रहेको छ । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका मानव अधिकार अधिकृत गणेश जोशी पनि भेटघाट कार्यकंममा  सहभागि हुनुभएको थियो ।

पर्यवेक्षण टोलीले निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचनपछिको अवस्थाको अनुगमन तथा पर्यवेक्षण गरी प्राप्त तथ्यका आधारमा प्रतिवेदन तयार गरी निर्वाचन कार्यालयलाई बुझाउने छ । इन्सेकबाट २५ जनाले उपनिर्वाचनको पर्यवेक्षण गरिरहेनु भएको छ ।

photo20240426bajhang (8)

अन्य

भिडियो