INSEC Online

📅 २०८३ जेष्ठ २१

बर्दियामा ६४.२८ प्रतिशत महिला स्वास्थ्य स्वयंसेविका बिमाको पहुँचभन्दा बाहिर

बर्दियामा ६४.२८ प्रतिशत महिला स्वास्थ्य स्वयंसेविका बिमाको पहुँचभन्दा बाहिर रहेको पाइएको छ । स्वास्थ्य बिमा बोर्ड बर्दियाले ६४.२८ प्रतिशत महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य बिमा पहुँच भन्दा बाहिर रहेको जनाएको हो ।

गुलरिया नगरपालिका-७ की महिला स्वास्थ्य स्वयंसेविका मञ्जु यादवले पहिला स्वास्थ्य बिमा गरे पनि आर्थिक अभावले गर्दा बिमाको नविकरण गर्न नसकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘स्वास्थ्य स्वयंसेविकाले पाउने सेवा सुविधा कम छ । जसले गर्दा आर्थिक रूपमा समस्या हुन्छ, स्वास्थ्य बिमाको नविकरण गर्ने समयमा आर्थिक समस्या भएकोले नविकरण नसकेको हो ।’

नेपालमा बाल मृत्युदर र मातृ मृत्युदर कम हुनुमा स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान रहेको छ । नेपालमा शहरी तथा ग्रामिण गाउँमा गएर स्वास्थ्यको बारेमा प्रचार गर्ने र सुत्केरी महिलालाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन स्वास्थ्य सेविकाहरूको महत्वपूर्ण योगदान रहेको छ । तर तीनै महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य बिमाको पहुँच भन्दा बाहिर रहनु परेको छ ।

त्यसैगरी मधुवन नगरपालिका-६ की महिला स्वास्थ्य स्वयंसेविका शुशिला गिरीले आर्थिक रूपमा समस्या भएर स्वास्थ्य बिमा नगरेको बताउनु भयो । उहाँले भन्नुभयो,‘स्वयंसेविका भएर प्राप्त गरेको सेवा सुविधाले नपुग्ने भएकोले स्वास्थ्य बिमा गर्न नसकेको हो । केन्द्र तथा प्रदेश सरकार वा स्थानीय तहले स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गराउनु पर्छ । स्वयंसेविका भएर घरखर्च चलाउन गाह्रो छ, कसरी बिमा गर्नु त्यही भएर सरकारले नै स्वास्थ्य स्वयंसेविकाको बिमा गराइदिनुपर्छ ।’

स्वास्थ्य बिमा बोर्डले महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलाई स्वास्थ्य उपचार गर्दा लाग्ने दस्तुरमा ५० प्रतिशत छुट दिँदै आएको स्वास्थ्य बिमा बोर्डकाका जिल्ला संयोजक रुपेश आर्चायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘स्वयंसेविकाले छुट प्राप्त गर्नका लागि सरकारले उपलब्ध गराएको परिचय पत्र दर्ता सहयोगीलाई उपलब्ध गराउनु हुन्छ र स्वयंसेविकालाई स्वास्थ्य संस्थामा उपचार गर्दा सहभुक्तानी पनि लाग्दैन ।’

महिला स्वास्थ्य स्वयंसेविकाहरू स्वास्थ्य बिमाको पहुँचभन्दा बाहिर हुनु गम्भीर विषय हो । बर्दिया रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य बिमाको पहुँचसम्म ल्याउन जरुरी रहेको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोर्कण गिरीले बताउनु भयो । उहाँले महिला स्वास्थ्य स्वयंसेविकाले प्राप्त गर्ने सेवा सुविधा स्थानीय तहले दिने भएकोले स्थानीय तहमा रहेका स्वास्थ्य शाखासँग छलफल गरी महिला स्वास्थ्य सेविकालाई स्वास्थ्य बिमाको पहुँच ल्याउन पहल गर्ने जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयको अनुसार बर्दियामा ८ सय ३७ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् । जसमध्ये ३५.७२ प्रतिशत महिलाहरू स्वास्थ्य बिमाको पहुँचमा रहेका छन् भने ६४.२८ प्रतिशत महिलाहरू स्वास्थ्य बिमा पहुँच भन्दा बाहिर रहेका छन् ।

अन्य

भिडियो