रामेछापको सदरमुकाम मन्थली बजारको फोहोर अव्यवस्थितरुपमा नदि किनारामा बिसर्जन गर्नाले खानेपानीको मुहान प्रदुषित भएको छ ।
मन्थली र तामाकोसी नदी किनारका बस्तीको खानेपानीको प्रमुख स्रोतको रुपमा रहेको तामाकोसी नदी किनारमा फोहोर फाल्दा नदीमा फोहोर र त्यसको रसायन मिसिएर नदीको पानी दिनदिनै प्रदुषित बन्दै गएको छ ।
मन्थली बजारमा संकलन गरिएको फोहोर वर्षौँदेखि तामाकोसी नदी किनारको रणजोर खोलाको दोभानमा खुल्लारुपमा फाल्ने गरिएको छ । मन्थली नगरपालिकाले स्थायी डम्पिङ्साइड बनाउन नसक्दा फोहोर नदी र खोलाको दोभानमा बिसर्जन गर्नाले त्यसको प्रत्यक्ष प्रभाव नदीको पानीमा परेको छ ।
तामाकोसी नदी किनारमा इनार बनाएर पानी लिफ्ट गरी नदी आसपासका बस्तीमा खानेपानी वितरण गरिएको छ ।
खुल्लारुपमा फोहोर फाल्दा स्थानीय खाने पानीको मात्र नभइ किसान र मलामी समेत प्रभावित भएका छन् । खोलामा फालिएको फोहोर बगाएर किसानका खेत तथा पानी लगाउने कुलोमा पुग्ने गरेको छ । पानी लगाउन खाली खुट्टा हिँड्दा फोहोरमा फालिएको सिसा, काँटी तथा सिरिञ्ज समेत बारम्बार बिझ्ने गरेको मन्थली नपा–१ का किसान ऋषिशंकर घिमिरेले गुनासो गर्नुभयो ।
हाल फोहोर फाल्ने गरिएको स्थान मसान घाट पनि हो । आफन्तको अन्तिम संस्कारमा जाने र फर्कने क्रियापुत्री र मलामीहरु उक्त बाटो भएर खाली खुट्ट् हिँड्ने गर्दछन् । नदीको दोभानमा फालिएको फोहोरमा मिसिएको सिसा, काँटी तथा सिरिञ्जले पटक पटक मलामीहरुको खुट्टा काटिने गरेको स्थानीय बताउँछन् ।
स्थायी डम्पिङसाइडको व्यवस्था नहुँदा नदी किनारमा फोहोर फाल्नु पर्ने बाध्यता रहेको मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठ बताउनु भयो । नगरपालिकाले स्थायी र सुरक्षित डम्पिङसाइडको खोजी गरिरहेकोले उक्त समस्या चाँडै समाधान हुने उहाँले बताउनु भयो ।