INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

१८ वर्षीया बलात्कार पीडित युवतीको परिवारलाई इन्सेकले ०८१ वैशाख ९ गते आर्थिक सहयोग गरेको छ । पीडित युवतीले आफ्नो आर्थिक अवस्था निकै कमजोर भएको कारण खान,बस्नकोको लागि समेत समस्या भएको भन्दै सहयोग गरिदिन निवेदन मार्फत इन्सेकसमक्ष आग्रह गर्नुभएको थियो । सोही निवेदनको आधारमा इन्सेकले वैशाख ९ गते पीडित युवतीकी दिदीलाई १० हजार रुपियाँ सहयोग प्रदान गरेको हो ।

सिलाइकटाई कामको सिलसिलामा कपिलबस्तुबाट रोल्पाको लुङ्ग्री गाउँपालिका आउनुभएकी पीडितले भन्नुभयो, ‘आमा र बुबा कपिलवस्तुको टिक्करमा बस्ने गरेको तथा आमा बुबाले घरमा बोलाए पनि गाडि भाडा समेत आफूसँग नभएका कारण यतै बस्न परेको छ ।’ अहिले पीडित युवती सेफ हाउसमा बसेको र सबै हेरचाह सेफ हाउसले नै गरिरहेको पीडितको भनाइ छ ।

आर्थिक अवस्था निकै कमजोर भएकोले उहाँको पढाइलाई निरन्तरता दिन सक्नुभएन । उहाँको सोही आर्थिक अवस्था कमजोर भएकोले आरोपितले बलात्कार गरेको पीडितकी दिदीको भनाई छ । पीडित अहिले मानसिक तनावमा हुनुहुन्छ । उहाँलाई अहिले सेफ हाउसमा राखेर काउन्सेलिङ दिइरहेको छ । पीडितलाई ०८० चैत ३ गते बलात्कार गरेको भन्दै लुङ्ग्री गाउँपालिका-२, शिर्पका २५ वर्षीय नेमलाल खड्का विरुद्ध पीडित पक्षले चैत ६ गते इलाका प्रहरी कार्यालय, सुलीचौरमा उजुरी दियो । आरोपितलाई प्रहरीले चैत ७ गते गिरफ्तार गर्‍यो । पीडितको स्वास्थ्य परीक्षण चैत ७ गते रोल्पा जिल्ला अस्पताल, रेउघामा भयो । जिल्ला अदालतको चैत २७ गतेको इजलासले आरोपितलाई पुर्पक्षको लागि थुनामा पठायो ।

पीडितले जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामनारायण गुप्ताको सहयोगमा निवेदन मार्फत इन्सेकसमक्ष आर्थिक सहयोगको लागि आग्रह गर्नुभएको हो ।

अन्य

भिडियो