आठ वर्षीया बालिका यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले खाँदबारी नगरपालिका-६ का ४४ वर्षीय उत्तम विकलाई १ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको ०८१ वैशाख ६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार रामचन्द्र केसीले बताउनु भयो ।
अदालतको सोही आदेशले कसुरदारलाई १० हजार रूपियाँ जरिबाना, राहत कोषमा ४ सय रूपियाँ जम्मा गर्न र २५ हजार रूपियाँ क्षतिपूर्ति भराउन आदेश भएको श्रेस्तेदार केसीले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०८० असार २४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले ०८० असार २५ गते गिरफ्तार गरी जिल्ला अदालतमा ०८० साउन १७ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको ०८० साउन १७ गते इजलासले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८० असार २५ गते गरिएको थियो ।