मन्थली नगर अस्पतालमा रेबिज रोग विरुद्धको एण्टिरेबिज भ्याक्सिनको अभाव हुँदा भ्याक्सिन लगाउन जिल्ला बाहिर जानु पर्ने बाध्यता रहेको छ ।
रेबिज सङ्क्रमित कुकुर, बिरालो, स्याल, बाँदर जस्ता जनावरले टोक्दा तीनदेखि पाँच पटकसम्म लगाउनु पर्ने उक्त भ्याक्सिनको जिल्लामा अभाव हुँदा रामेछापका बिरामी भ्याक्सिन लगाउन धुलिखेल अस्पतालमा जाने गरेका छन् । जसले गर्दा बिरामीले सास्तीको साथै आर्थिक भार व्यहोर्नु परेको छ ।
कुकुरले टोकेपछि मन्थली अस्पतालमा ०८१ वैशाख ४ गते भ्याक्सिन लगाउन आउनु भएका लिखु तामाकोसी गाउँपालिकाका रामबहादुर मगर अस्पतालमा भ्याक्सिन नभएको सूचना पाएपछि काभ्रेको धुलिखेल अस्पताल जानुभयो । ‘यहाँ भ्याक्सिन लगाइन्छ भनेर आएको तर सक्किएको रहेछ, अब धुलिखेल जानु पर्ने भयो ।’,उहाँले भन्नुभयो ।
सङ्क्रमित पशुले टोकेको २४ घण्टा भित्र एण्टिरेबिज भ्याक्सिन लगाउनु पर्दछ । मन्थली अस्पतालमा नै भ्याक्सिन पाइन्छ भनेर आउने कतिपय बिरामीले धुलिखेल पुग्नु पर्दा सयमा खोप लगाउन समेत पाएका छैनन् ।
मन्थली अस्पतालका डा. केशवसिंह धामीका अनुसार जाडोमा भन्दा गर्मीमा सङ्क्रमित पशुले टोकेका बिरामी बढी आउने गर्दछन् । मन्थली अस्पतालमा वार्षिक एक हजार भ्याक्सिन आवश्यक पर्ने उहाँले बताउनु भयो ।
अस्पतालमा रेबिजविरूद्धको भ्याक्सिन अभाव भएको मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँल बताउनु हुन्छ । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बागमती प्रदेशले रेबिजविरूद्धको भ्याक्सिन नपठाउँदा भ्याक्सिन अभाव भएको उहाँले बताउनु भयो । प्रदेशबाट भ्याक्सिन नआएपछि अब नगरपालिकाले भ्याक्सिन किनेर सेवा प्रदान गर्ने योजना बनाएको फुयाँलले जानकारी दिनुभयो ।
नेपालको संविधानको मौलिक अधिकारको धारा ३५ मा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने र आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गर्न नमिल्ने उल्लेख छ । साथै प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँच हुने कुरा पनि मौलिक हकमा उल्लेख गरिएको भए पनि रामेछापका बिरामीलाई भने सेवा लिन समस्या भएको छ ।