INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँमा खानेपानीको अभाव, पानी अभाव हुँदा गाउँ छाड्न बाध्य स्थानीयहरू

रामेछापको मन्थली नगरपालिका–२ र ३ मा खानेपानीको मुहान सुकेपछि गाउँमा खानेपानीको अभाव भएको  छ । खाने पानी अभाव भएका कारण स्थानीय वासीहरू गाउँ छाडेर बसाई सर्न बाध्य भएका छन्

मन्थली नगरपालिका–२ को टेकानपुर, कठजोर लगायतको क्षेत्र तथा वडा नं ३ को ठुलीमदौ, पुरानागाउँ, अर्चले लगायतको क्षेत्रमा खानेपानीको अभाव भएको छ ।

वडा नं २ को कठजोर र टेकानपुरका अधिकांश पानीको पुराना मुहान सुकेको स्थानीय कमल श्रेष्ठले बताउनु भयो । ‘पुराना धारा, पँधेरा अधिकांश सुकिसके, बाँकी रहेकामा पनि पानी एकदमै कम आउँछ, गाउँमा पानीको हाहाकार छ ।’, श्रेष्ठले भन्नु भयो ।

वडा नं ३ को अर्चले ठुलीमदौ, पुरानागाउँ, हाँडीस्वाँरा क्षेत्रको समस्या पनि त्यस्तै छ । उक्त क्षेत्रमा पनि अधिकांश पुराना धारा, कुवा सुकेका स्थानीय अम्बिकाप्रसाद भट्टराई बताउनु हुन्छ ।

नदी र खोला किनारका तल्ला भेगमा नदी र खोलाको पानी लिफ्ट गरेर खाने गरेका भए पनि माथिल्ला भागमा पानी पुर्याउन ठुलो योजना सञ्चालन गर्नुपर्ने भएकोले त्यो सम्भव नभएको स्थानीय बताउँछन् ।

गाउँमा पानीको आपूर्ति गर्ने वैकल्पिक मुहान नभएपछि सो क्षेत्रका बासिन्दा रणजोर खोला, कठजोर खोला तथा तामाकोसी किनारमा बसाइँ सर्न थालेका छन् । जसले गर्दा गाउँका खेतबारी बाँझै भएका छन् । ‘गाउँमा पानी छैन, मान्छे सबै बेसी झरे, गाउँका बारी बाँझै भए, घर ढल्न लागे’, मन्थली–३ का स्थानीय डोरबहादुर बरुवाल भन्नुहुन्छ ।

बिकल्प हुने सबैले गाउँ छाडिसके । बिकल्प नहुने परिवार गाउँमा छन् । गाउँ बस्नेहरु एक/ डेढ घण्टा टाढाका मुहानबाट खानेपानी बोक्न बाध्य छन् ।

कठजोरका ५० भन्दा बढी घरधुरीका लागि एउटा मात्र धारोले पानीको प्यास मेटाएको छ । उक्त धारोमा पानी भर्न बिहानैदेखि लाइन लागेर पालो कुर्नुपर्ने बाध्यता गाउँलेलाई छ । ‘एउटा घरको एक जनाले  पानी भर्ने पालो कुर्नै बस्नु पर्छ’, स्थानीय अञ्जु अधिकारीले भन्नुभयो ।

मन्थली नगरपालिकामा एक घर एक धारोको कार्यक्रम ल्याएको भए पनि पानीका मुहान नै नहुँदा सो कार्यक्रम चुनौतीपूर्ण भएको नगरप्रमुख लब श्रेष्ठले बताउनु भयो । तथापि नगपालिकाले पानीको श्रोत भएको ठाउँमा सो कार्यक्रम निरन्तर चलिरहेको र सुक्खाग्रस्त क्षेत्रमा वैकल्पिक व्यवस्थाकोरुपमा कतिपय ठाउँमा लिफ्ट खानेपानीका योजना सञ्चालन भइरहेका र अन्य ठाउँमा पनि त्यसलाई अघि बढाउने उहाँले बताउनु भयो ।

नेपालको संविधानको मौलिक हकको धारा ३५ (४) मा हरेक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुने छ भनिए पनि कठजोरका नागरिकले भने सो मौलिक हकको उपभोग गर्न पाएका छैनन् ।

अन्य

भिडियो