INSEC Online

📅 २०८३ जेष्ठ २१

द्वन्द्व पीडित महिलाहरूले अझैसम्म न्याय र राहत नपाएको गुनासो

तनहुँका द्वन्द्व पीडित महिलाहरूले अझैसम्म राहत र न्याय नपाएको गुनासो गरेका छन् ।

द्वन्द्व पीडित महिला सञ्जाल तनहुँकी अध्यक्ष सीता कैनीले आफ्ना परिवारको सदस्य मारिएको लामो समय भइसक्दा पनि राज्यले अझैसम्म न्याय र परिपुरणको व्यवस्था नगरेको बताउनु भयो । क्षतीपुर्ती स्वरुप १० लाख र शहिद परिवारको नाम बाहेक राज्यले आफुहरुलाई केही पनि नदिएको उहाँको भनाई थियो । द्वन्द्व पीडित महिलाहरु घरपरिवारमा आर्थिक तथा सामाजिक हिंसामा परेको, उनीहरुलाई पारिवारिक अंश पाउन कानुनी संघर्ष गर्नु परेको उहाँको भनाई थियो । द्वन्द्व पीडित राष्ट्रिय महिला सञ्जाल तनहुँले ०८० चैत २९ गते आयोजना गरेको कार्यक्रममा उहाँले उक्त गुनासो गर्नुभएको थियो ।

 

द्वन्द्व पीडित मधु अधिकारीले आफ्नो छोराछोरी १८ वर्ष पुगेपछि राज्यले छात्रवृत्ती नदिएको भन्दै पीडितका छोराछोरीले १८ वर्ष पछि पढ्नु पर्दैन भन्ने प्रश्न गर्नुभएको थियो । उहाँले द्वन्द्व पीडित परिवारलाई सिपमुलक तालिम तथा सजहरुपमा स्वास्थ्य उपचारको व्यवस्था गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा द्वन्द्व पीडितहरूले घाइते अपाङ्गहरुको उपचार गर्नुपर्ने, छोराछोरीलाई उच्च शिक्षासम्म  छात्रवृत्ती दिनुपर्ने, स्थानीय तहले रोजगारी सिर्जना गर्दा द्वन्द्व पीडितका छोराछोरीलाई प्रथामिकतामा राख्नु पर्ने, द्वन्द्व पीडितहरुलाई परिचयपत्र दिनुपर्ने, सिपमुलक तालिम तथा औषधी उपचारको व्यवस्था गर्नुपर्ने माग गर्नुभएको थियो ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले द्वन्द्व पीडित महिलालाई सिपमुलक तालिम र रोजगारीको अवसर सिर्जना गर्ने बताउनु भयो । साथै नगर क्षेत्रका द्वन्द्व पीडितका छोराछोरीलाई नगरपालिकाको तर्फबाट छात्रवृत्ती उपलब्ध गराउने पनि मेयर न्यौपानेले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले द्वन्द्व पीडितहरुको सूचिकरणको आधारमा राज्यले पटक पटक क्षतीपुर्ती उपलब्ध गराएको बताउनु भयो । अझैपनि कतिपय द्वन्द्व पीडितहरु राहत पाउनबाट वञ्चित भएको भए स्थानीय तहबाट सिफारिस सहित प्रमाण पेश गरेमा आफुले गृहमन्त्रालयको सम्बन्धित शाखामा सिफारिस गर्ने बताउनु भयो । उहाँले द्वन्द्व पीडितलाई रोजगार र सिपमुलक तालिम उपलब्ध गराउन नीति बनाउनु पर्ने बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका एसपी अपिलराज बोहोराले कुनै द्वन्द्व पीडित घरेलु हिंसामा परेको भए आफुलाई जानकारी गराउन र न्यायको लागि पहल गर्ने बताउनु भयो ।

conflict victim family 080-12-30 tanahun

अन्य

भिडियो