भिमदत्त नगरपालिका क्षेत्रमा सञ्चालित बालविकास केन्द्रका शिक्षिकाहरुले विगत ६ महिनादेखि तलब सुविधा पाउन सकेका छैनन् ।
सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षिकाहरूलाई संघ र स्थानीय सरकारले तलब सुविधा उपलब्ध गराउनु पर्ने व्यवस्था अनुसार संघीय सरकारबाट पाउनु पर्ने मासिक १० हजार रुपियाँ तलब सुविधा पाउने गरेका भए पनि स्थानीय तहले उपलब्ध गराउनु पर्ने मासिक ७ हजार रुपियाँ तलब सुविधा पाउन नसकेको बालविकास केन्द्रका शिक्षिकाहरुले गुनासो गर्नुभएको छ ।
भिमदत्त नगरपालिका भित्र रहेका ५७ ओटा सामुदायिक विद्यालयमा १ सय ४४ जना बालविकास शिक्षिका कार्यरत रहका र स्थानीय तहबाट उपलब्ध गराउनु पर्ने मासिक ७ हजार तलब सुविधा विगत ६ महिनादेखि उहाँहरुले पाउन नसकेको बालविकास शिक्षा सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष रमा पन्तले बताउनु भयो ।
पटक–पटक नगरपालिकासँग समन्वय गर्दा समेत नगरपालिकाले आफूसँग बजेट नभएको भनेर जिम्मेवारीबाट पन्छिने गरेको उहाँले बताउनु भयो ।
अन्य शिक्षकहरूले नियमित रूपमा तलव तथा चाडपर्वका बेला पेश्की रकम समेत पाउने गरेको भए पनि आफूहरुले मासिक पारिश्रमिक समेत पाउन नसकेको शिक्षिका दुर्गा विष्टले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘नयाँ वर्ष आउन पनि केही दिन मात्र बाँकी छ । तर, हामीले ६ महिनादेखि तलब नै पाएका छैनौँ । कसरी नर्याँ वर्ष मनाउने । कसरी घर खर्च चलाउने । चिन्ताले सताउने गरेको छ ।’
स्थानीय तहले नयाँ वर्षको समयमा ६ महिनाको तलब दिने वातावरण बनाई दिनु पर्छ ।’ सरकारले बालविकास शिक्षिकाहरूको हौसला बढाउन समयमै तलब तथा अन्य सुविधा दिनु पर्नेमा उल्टै मासिक पारिश्रमिक नै नदिएर शिक्षिकाहरूको मनोबल घटाउने कार्य गरिएको शिक्षिका लक्ष्मी पाण्डेयले बताउनु भयो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको तलब उपलब्ध गराए पनि त्यसपछि हालसम्म ६ महिनाको तलब नदिएको विद्यालय कर्मचारी परिषद् नगर अध्यक्ष रमेशबहादुर खड्काले बताउनु भयो । समयमा तलब नपाउँदा शिक्षकहरुको दैनिकीमा समस्या परेको उहाँले दुखेसो पोख्नु भयो ।
६ महिनासम्म तलब नपाएर विद्यालयमा पढाउनु पर्दाको कठिनाई र यसले शिक्षण सिकाईमा पार्न सक्ने असरलाई मध्यनजर गर्दै स्थानीय सरकारले मासिक पारिश्रमिक तलब उपलब्ध गराउनु पर्ने शिक्षिका ललिता विकले बताउनु भयो ।
छोराछोरी पढाउनेदेखि लिएर घर खर्च व्यवस्थापन तथा घरको ऋण तिर्न समेत मासिक तलबमै निर्भर हुनेभएकोले लामो समयदेखि तलब नपाउँदा जिवन धान्न सकस् भएको उहाँको भनाइ छ ।
भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बमले विद्यालय कर्मचारीलाई तलब खुवाउन मालपोत राजश्व बाँडफाँट शीर्षकको राजश्व नआएका कारण तलब खुवाउन नसकिएको बताउनु भयो ।
शिक्षकहरुलाई मालपोत राजश्व बाँडफाँट शीर्षकबाट तलब खुवाउने गरिएको भए पनि त्यो रकम नआएका कारण समस्या उत्पन्न भएको उहाँको भनाइ छ ।