रास्कोट नगरपालिका–५ का मानव अधिकारकर्मी ३५ वर्षीय विर तिरुवालाई जातीय विभेद गरेको कसुरमा सोही नगरपालिका–१ का ३० वर्षीय अशोक शाही , पत्नी २७ वर्षीया सविना शाही र साली २४ वर्षीया पुशविना शाहीलाई जिल्ला अदालतले ०८० चैत २६ गते तीन महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश चन्द्रप्रकाश ज्ञावलीको ०८० चैत २६ गतेको इजलासले कैद सजायसँगै १० हजार रुपियाँ जरिबाना र १ हजार २ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश भएको जिल्ला न्याधिवक्ता लोकराज पाख्रेलले बताउनु भयो ।
पीडितलाई आरोपितले ०८० पुस ६ गते सार्वजनिक स्थलमा ‘विभेदित शब्द’ प्रयोग गर्दै गाली गर्नुका साथै अपमान गरेको भन्दै पीडितले आरोप आरोपितविरुद्ध पुष ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनु भएको थियो । साथै आरोपिहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत पनि जातीय विभेद हुने खालका विभिन्न अश्लील शब्दहरू प्रयोग गर्दै गाली गलौज गरेको बताउनु भएको थियो ।
आरोपितहरु हाल फरार अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयमा इन्स्पेक्टर पोषण थापाले जानकारी दिनु भएको छ ।
कसैले जातीय भेदभाव तथा छुवाछुत गरेमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० काे १६६ (२) उपदफा (१) बमाेजिमकाे कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपियाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।