INSEC Online

📅 २०८३ जेष्ठ २२

आत्महत्या दुरुत्साहन घटनाका फरार नन्द हाजिर

राजविराज नगरपालिका–८ की २० वर्षीया इबराना खातुनलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा फरार रहेकी मृतककी नन्द राजविराज नगरपालिका–८ की २२ वर्षीया सबिना खातुन ०८० चैत २६ गते हाजिर भएकी छिन् ।

जिल्ला न्यायाधीश संजिब पोखरेलको इजलासमा हाजिर भएकी खातुन चैत २६ गते नै २५ हजार रुपियाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएकी छिन् ।

खातुनसहित घरपरिवारका सदस्यले थप दाइजो माग्दै कुटपिट, गालीगलौज गरी शारीरिक, मानसिक यातना दिई प्रताडित गरेकोले ०७९ असोज २९ गते आत्महत्या गर्न इबराना बाध्य भएको भन्दै मृतककी आमा अग्नीसाइर कृष्णसवरन गाउँपालिका–५ बकधुवाकी ४५ वर्षीया लजिना खातुनले जिल्ला प्रहरी कार्यालयमा ०७९ कात्तिक २ गते उजुरी दिनुभएको थियो । पटक–पटक धाउँदा समेत प्रहरीले उजुरी दर्ता नगरेपछि लजिनाले ०८० वैशाख ४ गते जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन दिनु भएको थियो । सरकारी वकिल कार्यालयको निर्देशन पत्रसहितको उजुरी समेत दर्ता नगरेपछि पीडितकी आमाले वैशाख १४ गते उच्च अदालत जनकपुर राजविराज इजलासमा परमादेशको निवेदन दिनुभएको थियो ।

पीडित इबरानाको राजविराज नगरपालिका–८ का २२ वर्षीय नसेमुल्लाहसँग ०७८ जेठ १५ गते सामाजिक परम्पराअनुसार विवाह भएको थियो । पीडितलाई उनका पतिसहित ससुरा राजविराज नगरपालिका–८ का ५० वर्षीय मो नुरल्लाह, सासु ४८ वर्षीया गुलसन खातुन, राजविराज नगरपालिका–१ माइतघर भई राजविराज नगरपालिका–८ बस्ने नुरल्लाहकी छोरी ४० वर्षीया तञ्जिला खातुन, उहाँकी बहिनीहरू २५ वर्षीया रुबिना खातुन र २१ वर्षीया समिना खातुन तथा देवर २० वर्षीय समीमुल्लाहले दुरुत्साहन गरी आत्महत्या गर्न बाध्य बनाएको आरोप छ । राजविराजस्थित छिन्नमस्ता अस्पतालमा असोज २९ गते भर्ना भएका बखत पीडितले बताए अनुसार सासु, ससुरा, देवर र नन्दहरूले थप दाइजो माग्दै कुटपिट, गालीगलौज गर्ने गरेको र उनीहरूको बहकाउमा परी वैदेशिक रोजगारमा रहेका पति नसेमुल्लाहले समेत चरित्रमाथि लाञ्चना लगाएकोले विष सेवन गरेको जानकारी लजिनाले दिनुभयो । पीडितको उपचारको क्रममा असोज २९ गते नै छिन्नमस्ता अस्पतालमा मृत्यु भयो । शवको पोष्टमार्टम असोज २९ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भएको थियो ।

यस अघि फागुन २३ गते हाजिर भएकी समिनाकी दिदी रुबिना पनि २५ हजार रुपियाँ धरौटीमा रिहा भएकी थिइन् । नुरल्लाह फागुन १० गते २ लाख रुपियाँ धरौटीमा रिहा भएका छन् । यस्तै तञ्जिला फागुन १७ गते साधारण तारेखमा रिहा भएकी छिन् । फागुन १४ र फागुन १५ गते मृतककी सासु गुलशन र देवर समीमुल्लाह समेत पुर्पक्षका लागि धरौटी राखी तारेखमा रिहा भएका छन् ।

अन्य

भिडियो