जिल्लाको पूर्वी भेग पातारासी गाउँपालिका–४ स्थित डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा विद्यार्थी मर्कामा परेका छन् । सोही वडाको व्यूरेनी स्थित विद्युत्को नहर पहिरोले भत्काएपछि स्थानीयबासी अन्धकारमा बस्न बाध्य भएका हुन् । २५ मिटर नहर पहिरोले भत्काएको छ ।
विद्यालयबाट घर फर्केर बेलुका, साँझ अध्यारो भइसकेपछि पढ्न तथा गृहकार्य गर्नका लागि उज्यालो गर्ने बिजुली नहुँदा समस्या भएको ऋणमोक्ष माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा विनिता बुढाले बताउनु भयो । उहाँले भन्नुभयो ‘बिजुली अवरुद्ध भएको तीन दिन भयो । अब बिजुली आपुर्ति कहिले हुने हो कुनै पनि जानकारी छैन । विजुली अवरुद्ध हुँदा आठ सय घरधुरीका स्थानीय बासीसँगै हामी विद्यार्थी पनि मर्कामा परेको उहाँले गुनासो गर्नुभयो ।’
आयोजना सञ्चालन गर्दै आएको डिल्लीचौर विद्युत् सहकारीका अध्यक्ष कृष्णबहादुर बुढाका अनुसार गएको असारमा पहिरो गएपछि नहर चर्किएको थियो । त्यतिबेला देखि नै नहर मर्मतका लागि गाउँपालिकामा पहल गर्दै आएकाे उहाँले भन्नुभयो । पहिरो गएको ठाउँमा समयमै मर्मत हुन नसकेपछि अहिले २५ मिटर जति पहिरोले नहर नै भत्कायो । नहर भत्किएपछि २४ चैतदेखि पूर्णरुपमा विद्युत् नै अवरुद्ध भयो ।’ भत्केको नहर मर्मतका लागि प्राविधिक स्टमेट अनुसार ६ लाख बजेट आवश्यक पर्ने देखिएको छ । पहिरोले भत्काउन थालेको नहर समयमै मर्मत गर्नका लागि गाउँपालिकाले स्थानीय सरकारसँग पहल पनि गरेको हो । तर सुनुवाइ नभएकाे उहाँले बताउनु भयाे ।
अहिले पूर्णरुपमा विद्युत् अवरुद्ध हुँदा यस गाउँपालिकाका ४, ५ र ६ वडाका ८ सय घरधुरी प्रभावित भएको अध्यक्ष बुढाले बताउनु भयो । उहाँले भन्नुभयो ‘यहाँ सञ्चालनमा रहेका स्थानीय तह गाउँपालिका, वडापालिकासहित अन्य सरकारी निकाय, बैंक वित्तिय संस्थासमेत विद्युत् नहुँदा काम प्रभावित भएका छन् । विद्युत् नहुँदा स्थानीयबासी प्रभावित भएका छन् ।’
५८ किलोवाट विद्युत् उत्पादन भएको डिल्लोचौर विद्युत् आयोजनाको ३८ किलोवाट विद्युत् मात्रै खपत भएको अध्यक्ष बुढाको भनाइ छ । उहाँले भन्नुभयो, ‘खपत हुन बाँकी विद्युत् नेशनल ग्रिड नेपाल विद्युत् प्राविधकरणलाई बिक्री गर्ने योजना बनाएका छौँ । गाउँपालिकाले मर्मतका लागि बजेट व्यवस्थापन गरेपछि भत्केको नहर निर्माण गर्न दुई तीन हप्ता समय लाग्ने देखिन्छ । त्यतिबेलासम्म बिजुली अवरुद्ध नै हुने देखिएको छ ।’
पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराका अनुसार डिल्लीचौर विद्युत् आयोजनाको नहर मर्मतका लागि पालिकाबाट तीन लाख बजेट विनियोजन भएको छ । उहाँले भन्नुभयो, ’तत्काल नहर मर्मतको काम गरेर अवरुद्ध विद्युत् आपूर्ति गर्ने छौँ ।’
