हरिनगर गाउँपालिका-३ गौतमपुरका १९ वर्षीय जीवन मेहताले ०८० फागुन २५ गते शिवरात्रीका दिन सामाजिक सञ्जालमा लेखेको ‘स्टाटस’ को विषयलाई लिएर मुस्लिम समुदायका युवाले चैत २२ गते कुटपिट गरेपछि प्रशासनले चैत २३ गते निषेधाज्ञा जारी गरेको छ ।
हिन्दू समुदायका युवा जीवन मेहताले सामाजिक सञ्जालमा धार्मिक आस्थाविरूद्ध लेखेको आरोपमा मुस्लिम समुदायका युवाहरूले ०८० चैत २२ गते सार्वजनिक स्थानमा निर्घात कुटपिट गरेका थिए ।
कुटपिटपछि हिन्दू र मुस्लिम समुदायबिच हुन सक्ने झडपलाई लिएर प्रशासनले चैत २३ गते मध्यान्ह १२ बजेदेखि लागू हुने गरी हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका-१ र ७ मा लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।
कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलद्वारा जारी निषेधाज्ञामा सामाजिक, धार्मिक, राजनैतिक सभालगायतका गतिविधि गर्न वर्जित गरेको छ ।
अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि निषेधाज्ञा जारी रहने सूचनामा उल्लेख छ ।
कुटपिटबाट घाइते युवाको अवस्था गम्भीर छ । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान घोपामा उपचार भइरहेको छ ।
