३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा आवुँखैरेनी गाउँपालिका– ५ भोटेस्वाराका ३५ वर्षीय रोशन भन्ने मेष बहादुर गुरुङलाई तनहुँ जिल्ला अदालतले सात वर्ष तीन महिना कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश कमलराज विष्टको चैत २२ गतेको इजलासले उक्त मुद्दामा अन्तिम फैसला गर्दै दोषीलाई उक्त कैद सजाय र २ लाख रुपियाँ जरिबाना तथा पटके अपराधको मुद्दामा थप तीन महिना कैद र ५० हजार क्षतीपुर्ती तथा ११ हजार २ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार केशव पौडेलले जानकारी दिनु भयो ।
गुरुङले पीडित महिलालाई २०७८ माघ २४ गते बलात्कार गरेको भन्दै पीडितले माघ २५ गते इलाका प्रहरी कार्यालय आवुँखैरेनीमा उजुरी दिनु भएको थियो । प्रहरीले आरोपित गुरुङलाई माघ २६ गते गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परिक्षण माघ २५ गते दमौली अस्पतालमा गरिएको थियो ।