नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा घोडाघोडी नगरपालिका–२ साडेपानीका ७३ वर्षीय भागीराम डगौरालाई ०८० चैत २१ गते जन्मकैद सजायको फैसला गरिएको छ ।
जिल्ला अदालत, कैलालीका न्यायाधीश प्रदिपकुमार उपाध्यायको इजलासले कसूर ठहर गरी जन्मकैदको सजाय, ७ लाख जरिवाना, १ लाख क्षतिपुर्ति र २८ हजार रुपियाँ पीडित राहतकोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालत, कैलालीका शाखा अधिकृत कमल घलेले बताउनु भयो ।
पीडित बालिकालाई २०८० असार २० गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले २०८० असार २१ गते ईलाका प्रहरी कार्यालय, सुखडमा उजुरी दिनु भएको थियो ।
प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले २०८० साउन १६ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०८० असार २१ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।
यसैगरी १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा गोदावरी नगरपालिका–९ धनचौरीका ५८ वर्षीय नथ्थुराम डगौरालाई ०८० चैत २१ गते १८ वर्ष कैद सजायको फैसला गरिएको छ ।
जिल्ला अदालत, कैलालीका न्यायाधीश प्रदिपकुमार उपाध्यायको इजलासले कसुर ठहर गरी १८ वर्ष कैद सजाय, ७ लाख जरिवाना, १ लाख क्षतिपुर्ति र २८ हजार रुपियाँ पीडित राहतकोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालत, कैलालीका शाखा अधिकृत कमल घलेले बताउनु भयो ।
पीडित बालिकालाई २०७९ असोज ६ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले २०७९ असोज ७ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिनुभएको थियो ।
प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले २०७९ कात्तिक ३ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०७९ असोज ७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।