इलाम क्षेत्र न.२ मा ०८१ वैशाख १५ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता विपरीत विद्यालयमा चुनावी सभा गरेका छन् ।
निर्वाचन आचारसंहिता विपरित माङ्सेबुङ गाउँपालिका-५ भालुटारस्थित सरस्वती माध्यमिक विद्यालय बिदा दिएर चुनावी सभा गरिएको छ । इलाम क्षेत्र न. २ को उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा उम्मेद्वार डकेन्द्रसिंह थेबेलाई मत माग्न चैत २१ गते विद्यालयमा चुनावी सभा गरिएको हो ।
पठनपाठनका लागि विद्यार्थीहरू विद्यालयमा पुगेको अवस्थामा ठूला माइक लगाएर विद्यालयमा चुनावी कार्यक्रमको तयारी गरेपछि विद्यालय बिदा गरिएको थियो । आमसभाका क्रममा विद्यालय प्राङ्गण प्रचारसामाग्री र झण्डाले सजाइएको इन्सेकले अनुगमनका क्रममा फेला पारेको छ ।
निर्वाचन आचारसंहिताले कुनै पनि सरकारी वा अर्धसरकारी निकाय, सार्वजनिक संस्था वा विद्यालय, क्षेत्रमा भेला वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ । तर, विद्यालय नै बन्द गराएर आमसभा गरिएको इन्सेक अनुगमनका क्रममा पाइएको हो ।
विद्यालयमा चुनावी सभा गरेको विषयमा गाउँपालिकाको ध्यानाकर्षण भएको शिक्षा शाखा प्रमुख बुद्धीप्रसाद खतिवडाले बताउनु भयो । उहाँले भन्नुभयो ‘आज गाउँपालिकामा प्रधानाध्यापकहरूको भेला थियो । उक्त विद्यालयका प्रअ हरिप्रसाद आङदाम्बे भेलामा पनि आउनुभएन ।’ शिक्षा शाखा प्रमुख खतिवडाले भन्नुभयो, ‘चुनावीसभाको खबर आएपछि प्रअ सरसँग बुझ्दा उहाँहरूको दबाबले कार्यक्रम गर्न दिएको बताउनु भयो ।
विद्यालयले परीक्षाफल प्रकाशन गरेर चाँडो छुट्टी दिएको रहेछ ।’ आफूले प्रअलाई फोन गरेर विद्यालयमा राजनीतिक गतिविधि गर्न नदिन भनेको शिक्षा शाखा प्रमुख खतिवडाले बताउनु भयो ।
विद्यालयकी एक छात्राका अनुसार रिजल्ट सुनाएर विद्यालय बिदा गरिएको हो । ती छात्राले भन्नुभयो, ‘एक डेढ घण्टामा रिजल्ट सकियो अनि छुट्टि भयो । अरुबेला रिजल्टकै दिन पनि पढाइ हुन्थ्यो । आज कार्यक्रम छ भन्नुभयो ।’ धरान उप-महानगरपालिकाका प्रमुख हर्क साम्पाङ प्रमुख अतिथि रहेको सभामा एक दर्जन भन्दा बढी नेता कार्यकर्ताले भाषण गरेका छन् ।
विद्यालयमा चुनावी गतिविधि र कार्यक्रमका विषयमा इन्सेकले जानकारी दिन खोज्दा विद्यालयको प्रधानाध्यापक हरिप्रसाद आङदाम्बेको फोन उठेन । विद्यालयमा चुनावी कार्यक्रम भए नभएको विषयमा जानकारी लिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

