INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या कसुरमा पतिलाई जन्मकैद

बोदे बर्साइन नगरपालिका–७ फुलहराकी २८ वर्षीया रानीकुमारी प्रमाणीको हत्या कसुरमा उनका पति ३० वर्षीय अखिलेश्वर प्रमाणीलाई ०८० चैत ५ गते जन्मकैद सजायको फैसला भएको छ ।

जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको इजलासले आरोपितलाई जन्मकैदका साथै फौजदारी कसुर पीडित राहत कोषमा २ हजार ८ सय रुपियाँ जम्मा गर्नुपर्ने र पीडित पक्षलाई २ लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।

आरोपितविरुद्ध मृतकका दाजु बिष्णुपुर गाउँपालिका–४ सिम्राहा सिंग्यौनका नविनकुमार मण्डलले ०७९ भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा र भदौ २८ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिनुभएको थियो । अचानक पेट दुखी अस्पताल लगेकोमा रानीको मृत्यु भएको भनेर आरोपितले नविनलाई भदौ २६ गते जानकारी गराएका थिए । तरकारी व्यापारी आरोपितको अन्य महिलासँग अनैतिक सम्बन्ध रहेको विषयमा ०७९ भदौ २५ गते राति पति–पत्नीबीच झै–झगडा भएको थियो । नबिनका अनुसार पीडितले झैझगडा भइरहेका बेला हत्या हुन सक्ने गरी कुटपिट भइरहेको भनेर फोनमार्फत सुनाएकी थिइन् ।

उपचारका लागि भनेर धरान लैजादै गर्दा रानीको मृत्यु भएकोमा आरोपितले शव फर्काएर कोशीमा फाल्ने योजना बनाएकोबारे सुइको पाएर एम्बुलेन्स चालकले इलाका प्रहरी कार्यालय कडरबोनासँग सम्पर्क गरी शवलाई बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान नै पुर्‍याएका थिए । शवको पोष्टमार्टम बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भदौ २६ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय कडरबोनाले असोज २ गते उजुरी दर्ता गर्‍याे । आरोपित ०७९ असोज २८ गते गिरफ्तार भए । जिल्ला अदालतमा ०७९ कात्तिक २२ गते अभियोग पत्र दायर भएकोमा जिल्ला न्यायाधीश मौर्यको इजलाशले आरोपित पुर्पक्षका लागि थुनामा छन् ।

अन्य

भिडियो