४७ वर्षीया बौद्धिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा बागलुङ नगरपालिका– ७ का ५० वर्षीय प्रेम किसानलाई जिल्ला अदालत बागलुङले सात वर्ष तीन महिना कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश रमेशकान्त अधिकारीको ०८० चैत ७ गतेको इजलासले अभियोग दावी पुग्ने भन्दै बलात्कार कसुरमा सात वर्ष र अपाङ्गता भएकालाई बलात्कार गरेकोमा थप तीन महिना गरि सात वर्ष तीन महिना कैदसँगै ३ लाख रुपियाँ जरिबाना र २५ हजार क्षतीपूर्ती सजाय फैसला गरेको अदालतका सूचना अधिकारी शिव प्रसाद गौतमले जानकारी दिनुभयो ।
पीडित महिलालाई ०७९ माघ २५ गते बलात्कार गरि गर्भवती बनाएको भन्दै पीडित पक्षले ०८० जेठ १८ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।
जेठ १६ गते बिरामी परि धौलागिरी अस्पताल बागलुङमा उपचार गर्दा पीडित गर्भवती रहेको खुलेपछि परिवार र स्वास्थ्यकर्मीको सोधपुछको क्रममा बलात्कारमा परेको खुलेको थियो ।
प्रहरीले आरोपित किसानलाई जेठ १७ गते गिरफ्तार गरि ०८० असार ४ गते जिल्ला अदालत बागलुङमा बलात्कार कसुर शिर्षकमा मुद्दा दर्ता गरि असार ५ गतेको आदेशले पुर्पक्षको लागि थुनामा पठाएको थियो ।