अग्निसाइर कृष्णसवरन गाउँपालिका–४ प्रसवनी टोलकी ३० वर्षीया महिलालाई मायालजालमा फसाई शारीरिक सम्बन्ध राखी ब्ल्याकमेल गरेर आत्महत्याका लागि बाध्य बनाएको आरोपमा फरार रहेका अग्निसाइर कृष्णसवरन गाउँपालिका–५ छपकी टोलका ३२ वर्षीय नवकान्त शर्मा ०८० चैत ५ गते अदालतमा हाजिर भएका छन् । आरोपित शर्मा अग्निसाइर कृष्णसवरन गाउँपालिकामा कार्यरत गाउँ प्रहरी हुन् ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश संजिव पोखरेलको इजलासबाट ०८० चैत ५ गते पुर्पक्षका लागि तारेखमा राख्न आरोपितसँग १ लाख रुपियाँ धरौटी माँग गर्ने आदेश भएको अदालतले जनाएको छ ।
पीडितलाई २०८० वैशाख २९ गते आत्महत्या गर्न बाध्य बनाएको भन्दै मृतककी २९ वर्षीया बहिनीले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा वैशाख २९ गते उजुरी दिनुभएको थियो । आरोपितले वैशाख २८ गते राति र वैशाख २९ गते विहान मोबाइलमा पटक–पटक फोन गरी ब्ल्याकमेल गरेकाले २९ गते बिहान पीडितले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको पीडित पक्कीषको आरोप छ ।
सामाजिक परम्पराअनुसार ०६३ फागुनमा विवाहिता पीडितको एक छोरा र एक छोरी छन् । पीडितका पति ८ महिना अघि मलेशिया गएको अवधिमा आरोपितले मायालजालमा फसाई शारीरिक सम्बन्ध राखेर गाउँमै जेनरल स्टोर्स सञ्चालन गरेर बसेकी पीडितलाई धम्क्याउँदै रकम असुल्दै आएका आरोप छ ।
शवको पोष्टमार्टम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा वैशाख २९ गते भएको थियो । इलाका प्रहरी कार्यालय कञ्चनरुपले जेठ ३० गते उजुरी दर्ता गर्यो । जिल्ला अदालतबाट जेठ ३१ गते पक्राउ पुर्जी जारी भएपनि आरोपित फरार थिए । प्रहरीले आरोपित फेला नपरेको प्रतिवेदन कात्तिक ९ गते बुझाएको थियो । जिल्ला अदालतमा कात्तिक १५ गते अभियोग पत्र दायर भएको थियो ।