INSEC Online

📅 २०८३ जेष्ठ २१

सडक निर्माणमा लापरबाहीका कारण कुलो पुरिदा स्थानीय सिंचाइबाट वञ्चित, पहिरोको त्रासले आवागमनमा समेत जोखिम

मध्यपहाडी लोकमार्ग निर्माणको क्रममा निर्माण व्यवसायीले गरेको लापरबाहीको कारण कारण कुलो पुरिदा स्थानीयहरू सिं‌चाइबाट वञ्चित भएका छन् । भने पहिरोका कारण स्थानीयहरूले  आवागमनमा समेत जोखिम मोल्नु पर्ने बाध्यता रहेको छ ।

उक्त मार्गमा रामेछापको सुनापति गाउँपालिका–४ सिङ्गटीमा सडक निर्माणको क्रममा सडकको ढुङ्गा, माटो सोझै तल फालिएको छ । अक्कर भीरबाट ढुङ्गा, माटो फाल्दा च्याडिटार जाने सडक पुरिएको स्थानीय राज मैनालीले बताउनु भयो ।

सडक बनाउँदा माथिबाट ढुङ्गा, माटो फालेको कारण सिन्दुरे टारको सिंचाइ कुलो पनि पुरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा बनाइएको उक्त कुलो पूर्णरुपमा क्षति भएको घिमिरेले बताउनु भयो । कुलो पुरिएपछि स्थानीयको खेतमा सिंचाइ रोकिएको छ ।

उक्त सडकमा पैदल हिड्दा समेत पहिरोमा अड्किएको ढुङ्गा माटो झर्ने जोखिमले स्थानीयहरू त्रसित बनेका छन् । हावा चल्ने बित्तिकै सुख्खा पहिरो खस्ने र आवागमन गर्न नसकिने स्थानीय रमेश घिमिरेले गुनासो गर्नु भयो । ‘यातायात साधन त के पैदल हिड्दा पनि कतिखेर माथिबाट पहिरो आएर पुर्ने ठेगान छैन’, घिमिरेले भन्नुभयो ।

मध्यपहाडी लोकमार्ग निर्माणको क्रममा सडक खन्दा निस्किएको ढुङ्गा, माटो उचितरुपमा  व्यवस्थापन नगर्दा पर्यावरणमासमेत ठूलो क्षति भएको छ । खनेको ठाउँबाट डोजरले सोझै ढुङ्गा, माटो झारिदिँदा जङ्गल नष्ट भएको छ भने माटो सुनकोसी नदीमा थुप्रिएको छ । जसले गर्दा नदीको सतह उक्सिने तथा नदीको बहाव परिवर्तन हुने जोखिम बढेको छ ।

नदीको तटीय क्षेत्रका वासिन्दा प्रत्यक्ष प्रभावित जोखिम रहेको छ । नदीमा ढुङ्गा, माटो फालिएका कारण हिउँदको बेलामा पनि सुनकोसी धमिलो बग्न लागेको छ ।

नेपालको संविधानको धारा ३० मा मौलिक हक अन्तरगत स्वच्छ वातावरणको हकको व्यवस्था गरिएको भए पनि निर्माण व्यवसायीहरूको लापरबाहीले गर्दा वातावरणमा समेत प्रभाव परेको छ ।

अन्य

भिडियो