INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिष्ठानका सरसफाई कर्ताहरुले न्यूनतम पारिश्रमिक नपाएको गुनासो

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत सरसफाई कर्ताले न्यूनतम् पारिश्रमिक नपाएको गुनासो गरेको छन् । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम ०८० साउन १ गतेदेखि लागु हुने गरी न्यूनतम परिश्रमिक १७ हजार ३ सय रुपियाँ तोकेको छ ।

तर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत सरसफाई कर्ताहरु १४ हजार १५० रुपियाँ मात्रै मासिक सेवासुविधा पाएपछि श्रम ऐन अनुसार तोकेको न्यूनतम् पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।

प्रतिष्ठानमा कार्यरत सरसफाई कर्ता चन्दननाथ नगरपालिका – ३ डाँडाकोटकी सरिता कामीका अनुसार राज्यले तोकेको न्यूनतम् पारिश्रमिक पनि पाएका छैनौँ । उहाँले भन्नुभयो, काम गर्दै आएको पाँच वर्ष भयो । अहिलेसम्म नियुक्ति पनि दिएको छैन । ०८० साउन देखि तीन हजार पाँच सय रुपियाँ मासिक तलव वृद्धि भएको भन्ने सुनिएको छ । तर त्यो वृद्धि भएको तलब पनि पाएका छैनौँ ।

दैनिक ८ घण्टा श्रम गर्दै आएका छौँ । स्वास्थ्य देखि जोखिम बिमा पनि नगरिएको उहाँले गुनासो गर्नुभयो । सार्वजनिक विदादेखि दसैं भत्ता पनि दिने गरिएको छैन, उहाँले दुखेसो पोख्नु भयो ।
प्रतिष्ठानका प्रशासकिय अधिकृत द्धन्द्धबहादुर शाहीका अनुसार यहाँ ५६ जना सरसफाई कर्ता र ३८ जना सुरक्षा गार्ड कार्यरत छन् । उहाँले भन्नुभयो ‘ श्रम ऐन लागु हुनु अघि सार्वजनिक खरिद ऐन अनुसार घटीघटाउ टेण्डर अनुसार सुरक्षा गार्ड र सरसफाई कर्ता आएको हुन् । प्रतिष्ठानले टेण्डर गरेपछि  क्रिस सेकुरेटी एण्ड म्यान पावर सप्लायर्स कम्पनी नेपालगज्जले प्रतिव्यक्ति १० हजार पाँच सय रुपियाँ मासिक सेवासुविधा दिने गरी सरसफाई कर्ता र सुरक्षा गार्ड भर्ना गरेको हो । ’

हरेक वर्ष १० प्रतिशत सेवासुविधा वृद्धि हुने गरी कम्पनीसँग सम्झौता भएको थियो । अहिले उहाँहरुको पारिश्रमिक १४ हजार १ सय ५० रुपियाँ पुगेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो श्रम ऐन लागु भएदेखि न्यूनतम पारिश्रमिक नै लागु गर्ने गरी प्रतिष्ठानका पदाधिकारीसँग छलफल भइरहेको छ । अब न्यूनतम् पारिश्रमिक नै लागु हुन्छ होला ।

Photo20240320Jumla

अन्य

भिडियो