INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्षमाथि निलम्वित मेयरद्वारा कुटपिट

Photo 20240320 Saptari

Photo 20240320 Saptari 1

राष्ट्रिय स्वतन्त्र पार्टीका राजविराज नगर अध्यक्ष राजविराज नगरपालिका–७ का ३३ वर्षीय खेलानन्द दासलाई ०८० चैत ५ गते राजविराज नगरपालिकाका निलम्वित मेयर राजविराज नगरपालिका–९ का ५७ वर्षीय भिमराज यादव, उनका छोरा विलियम यादव र राजविराज नगरपालिका–७ का गुलाब यादवलगायतकाले कुटपिट गरेको दासले बताउनु भएको छ ।

सिटी रिक्सामा ‘भ्रष्टाचारी मेयर भिमराज यादव राजिनामा देउ’ लेखिएको ब्यानर टाँगेर माइकिङ गर्दै वजार परिक्रमा गरिरहेका वेला राजविराज नगरपालिका–३ स्थित ग्लोबल बैंक अगाडि आरोपितहरुको समूहले कुटपिट गरेको दासले बताउनु भएको हो ।

घाईते दासको राजविराज नगरपालिका–४ स्थित छिन्नमस्ता अस्पतालमा उपचार भएको छ । दासले आरोपितहरुमाथि कानुन बमोजिम कारबाहीको माग गर्दै चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने बताउनु भएको छ ।

विशेष अदालतले साउन ३२ गते निलम्बित मेयर यादवलाई दोषी ठहर गर्दै २ लाख ६३ हजार ४ सय ६८ रुँपियाँ जरिवाना तोकेको छ । मेयरमा निर्वाचित हुनु अघि यादव सञ्चालक रहेको न्यू गहिल कन्स्ट्रक्सनद्वारा आर्थिक वर्ष २०७४/७५ मा राजविराजस्थित राजरंगशालाको स्तरोन्नती कार्यमा भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीलगायत ७ जना विरुद्ध २०७९ साल असार २९ गते विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो । २०७९ जेठ ९ गते पदभार ग्रहण गरेको एक महिना २१ दिन नबित्दै भ्रष्टाचारको आरोप लागेका मेयर यादव निलम्बनमा परेका थिए ।

विशेष अदालतले भ्रष्टाचारी ठहर गर्दै जरिवाना तोकेपछि यादव फैसला बदरको माँग गर्दै सर्वोच्च अदालत पुगेका छन् । “न्यायिक निकायमा मुद्दा लडिरहेको बेला अदालतलाई प्रभावित पार्ने गरी राजिनामा माग्दै दुष्प्रचार गर्नु वेठिक हो ।” आरोपित यादवले भन्नुभयो– “राजनीतिक रुपमा बदनाम गर्न नियोजित रुपमा परिचालन भएको देखेपछि आक्रोशित कार्यकर्ताले कुटपिट गरेका हुन् ।”

उता कानुनभन्दा माथि कोही नहुने भन्दै दासले न्यायिक निकाय हुँदाहुँदै कानुन हातमा लिएर कुटपिट गर्नु लोकतन्त्रमाथिकै प्रहार भएको बताउनु भएको छ ।

अन्य

भिडियो