वातावरण विज्ञ तथा मौसमविदहरूले प्रिमनसुनको समयमा वर्षा नहुनुलाई जलवायु परिवर्तनको संशयका रूपमा लिएका छन् । उनीहरूले प्रिमनसुन सुरूआत भइसक्ने समयमा पनि वर्षा नभएका कारण सुख्खा बढ्दा कोशी प्रदेशमा फागुनयता आगलागीका घटनामा सयौँ मानिस घरबारविहीन हुनु परेको बताएका छन् ।
वातावरण विज्ञ भुषण तुलाधरले प्रिमनसुन सुरूआत हुने समय भएको तर जाडोयाम सकिँदा पनि वर्षा नभएका कारण अत्यधिक सुख्खा बढ्दा कोशी प्रदेशमा आगलागीका घटना अचाक्ली बढेको बताउनु भयो । उहाँले वर्षा हुनुपर्ने समयमा वर्षा नभएका कारण सुख्खा बढेको छ, चैत, वैशाख महिना तातोहावा चल्ने भएकाले आगलागीका घटना वृद्धिमा सहयोग पुगेको छ, समयमा वर्षा नहुनु वा अत्यधिक वर्षा हुनुलाई जलवायु परिर्वतनका संशयका रूपमा लिन सकिन्छ, वातावरण विज्ञ तुलाधरले भन्नुभयो ।

कोशी प्रदेश कार्यालय, विराटनगरले कोशी प्रदेशमा ०८० फागुनयता आगलागीका घटनामा तीन जनाबालिकासहित पाँच जनाको जलेर मृत्यु, १ सय ६८ ओटा घर जलेर नष्ट र १५ करोड रुपियाँ बराबरको आर्थिक क्षति भएको जानकारी दिएको छ ।
प्रिमनसुनको समय सुरू हुनै लाग्दा आगलागीका घटना र क्षतिको ग्राफ बढ्दै गएको प्रदेश प्रहरी कार्यालयका डिआइजी चन्द्रकुबेर खापुङले बताउनु भयो । ‘आगलागीको घटना बढ्दै जाँदा चिन्ता थपिएको छ । उद्दार र आगलागी नियन्त्रणमा प्रहरी परिचालित भएको छ । तर, आगलागीका घटना रोकिएको छैन,’ उहाँले भन्नुभयो ‘आगलागीका घटना नियन्त्रणका लागि साधन स्रोतको कमी, भौगोलिक विकटताले पनि समस्या पारिरहेको छ ।’
फागुनयता कोशी प्रदेशका सयौँ नागरिक घरबार जलेका कारण आवासविहीन हुनु परेको छ । तर सङ्घीय र प्रदेश सरकारले आगलागी घटनाका पीडितको द्रुत उद्दार, उचित व्यवस्थापन र राहत वा क्षतिको कार्यलाई प्रभावकारी ढङ्गले अघि बढाउन सकेका छैनन् ।
ताप्लेजुङ्ग प्रतिनिधि एलिना दियालीका अनुसार जिल्लामा ०८० फागुनको तेस्रो सातादेखि चैत १ गतेसम्मको अवधिमा जिल्लामा १६ ओटा आगलागी तथा डढेलोका घटना भएका छन् । सुक्खा मौसमसँगै राष्ट्रिय तथा सामुदायिक वनमा एकपछि अर्का गर्दै डढेलो लागेको हो । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत परमेश्वर पासवानले दुई साताको अवधिमा नौ सामुदायिक र सात राष्ट्रिय वनमा डढेलो लागेको बताउनु भयो । ०८० फागुन १४ गते मेरिङ्देन गाउँपालिका-२ सान्थाक्रास्थित मुरूमी चिहानडाँडा सामुदायिक वनमा डढेलो लागेको थियो । त्यसपछि फागुन १६ गते फुङ्लिङ नगरपालिका-८ दोखुको राष्ट्रिय वनमा र फागुन २४ गते एकै दिन चार ओटा वनमा डढेलो लागेको छ । मेरिङ्देन गाउँपालिका-४ लिङ्तेप र ५ थुकीमामा रहेको राष्ट्रिय वनमा डढेलो लागेको छ । मिक्वाखोला गाउँपालिका-३ लिवाङस्थित सिनाबुङ सरजा सामुदायिक वन र वडा ४ साँवाको आइखालम्ब्याक सामुदायिक वनमा आगो लागेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । फागुन २५ गते मिक्वाखोला-१ खोक्लिङको कार्तीपाखा सामुदायिक वन र वडा-४ साँवाको मानाभरा सामुदायिक वनमा, २६ गते मिक्वाखोला-२ खोक्लिङस्थित तेस्रेकाली सामुदायिक वन र वडा-५ पापुङको हिमाली जडीबुटी सामुदायिक वनमा डढेलो लागेको छ । फागुन २७ गते पाथीभरा याङ्बरक-१ नाङ्खोल्याङको त्रिवेणी सामुदायिक वन, २९ गते नाङ्खोल्याङकै खैरेनी सामुदायिक वन र फक्ताङ्लुङ गाउँपालिका-१ सावादिनस्थित राष्ट्रिय वनमा डढेलो लागेको वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । फागुन ३० गते सिदिङ्वा गाउँपालिका-५ लिम्बुदिनमा रहेको राष्ट्रिय वनमा तथा चैत १ मा सिदिङ्वा-६ मेहेलेको राष्ट्रिय वन र फुङ्लिङ नगरपालिका-८ दोखुको राष्ट्रिय वनमा डढेलो लागेको छ ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका ०८० फागुन २८ गते सिद्धिचरण नगरपालिका-२ ठूलाछापमा आगलागी हुँदा ६ ओटा घर जलेर नष्ट भएका छन् । हावाहुरीसँगै स्थानीयले फागुन २८ गते ढाडे सामुदायिक वनमा लगाएको डढेलो वस्तीमा पसेपछि ६ ओटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपकबहादुर केसीले बताउनु भयो । आगलागीबाट मानवीय क्षति नभएपनि धनमाल जलेर नष्ट भएको छ ।
खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार जिल्लामा ०८० फागुन ११ गतेदेखि चैत ६ गतेसम्मको अवधिमा ३५ स्थानमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरुषोत्तम खड्काले वन डढेलो र विद्युत सर्ट भई आगलागी भएको बताउनु भयो । आगलागीबाट १९ ओटा गोठ, १६ ओटा घर र ७१ ओटा चौपाया जलेर नष्ट हुँदा १ करोड ६३ लाख ७७ हजार ५ सय रुपियाँ बराबरको क्षति भएको छ ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार ०८० चैत ३ गते हतुवागढी गाउँपालिका-७ पात्लेपानीमा आगलागी हुँदा एकै परिवारका दुई जना बालक र एक जना बालिका गरी तीन जनाको मृत्यु भएको छ । आगलागीमा परी हतुवागढी गाउँपालिका-७ पात्लेपानीका केदार कार्कीका ५ वर्षीय छोरा प्रनिस कार्की, रमेश कार्कीकी सात वर्षीया छोरी दिप्तिका र तीन वर्षीय छोार उननिस कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दलकुमार राईले बताउनु भयो । भोजपुर नगरपालिका-१२, टक्सारको मालेबाँसस्थित जङ्गलमा लागेको आगो बस्तीमा पस्दा आठ ओटा घर जलेर नष्ट भएका छन् ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार ०८० चैत १ गते धनकुटा नगरपालिका-१० धर्मशालामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । स्थानीय कमला मोक्तानको घरबाट आगलागी सुरू भएको थियो । आगलागीबाट मोक्तानको घरसहित मेहरमान मोक्तानको दुई ओटा घर जलेर नष्ट भएका छन् । चन्द्रकुमारी अधिकारी र रत्न ठाडामगरको घरमा आंशिक रूपमा क्षति पुगेको छ ।
तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार ०८० चैत ४ गते आगलागीका कारण जिल्लामा १९ ओटा घर जलेर नष्ट भएका छन् । फेदाप गाउँपालिका-१ मयन्तापामा भएको आललागीका कारण १९ ओटा घर जलेर नष्ट भएका हुन् । आठराई गाउँपालिका-१ संक्रान्ति बजरा नजिकै आगलागी हुँदा चार ओटा घर जलेका छन् । आगलागीका कारण स्थानीय देवी गौतम, बलराम गौतम, गणेश गौतम र गोविन्द गौतमका घर जलेका छन् ।
पाँचथर प्रतिनिधि इवारा जवेगु लिम्बूका अनुसार ०८० चैत २८ गते हिलिहाङ गाउँपालिका-७ सुभाङमा जङ्गलबाट सल्केको आगोका कारण आठ ओटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट इन्द्रबहादुर पन्दाक र मदन चाँपागाईसहित आठ ओटा घर जेलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताउनु भएको छ ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार ०८० फागुन र चैतको पहिलो साता गरी जिल्लामा एक साताको अवधिमा १७ ओटा आगलागीका घटनामा करोडौँको भौतिक क्षति भएको छ । चैत ४ गते दमक नगरपालिका-८ मा रहेको एक फर्निचर उद्योगमा आगलागी हुँदा १० लाख रुपियाँ बराबरको क्षति भएको छ । फर्निचरका सञ्चालक मुहम्मद शाकिर हुसेनले उद्योग बन्द गरेर निस्केको केही बेरमा अगालागी भएको बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी ढुण्डीराज गिरीले दिएको जानकारी अनुसार फागुन २६ गतेदेखि चैत ३ गतेसम्म एक साताको अवधिमा जिल्लामा १५ ओटा स्थानीय तहमा १६ ओटा आगलागीका घटना भएका छन् । मेचीनगर नगरपालिका-१५ को भगवती प्लाइ उद्योगमा भएको आगलागीबाट १५ करोड ३२ लाखको क्षति भएको छ । कन्काइ, शिवसताक्षी, भद्रपुर, झापा, हल्दीबारी, गौरीगञ्ज र दमकमा गरी १६ ओटा आगलागीका घटना भएका छन् ।
मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार ०८० चैत ३ गते रङ्गेली नगरपालिका-३ बाबुसाहेव टोलको सन्थाल बस्तीमा आगलागी हुँदा २० ओटा घर जलेका छन् । सन्थालबस्ती फुसको घर भएको र बाक्लो वस्ती भएका कारण २० ओटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय, रङ्गेलीका इन्स्पेक्टर बुद्धि चौलागाईँले बताउनु भयो । आगलागीका कारण २८ परिवार विस्थापित भएको र उनीहरूको पुनस्थापना थालिएको रङ्गेली नगरपालिका उपप्रमुख गोमा पराजुलीले बताउनु भयो । आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालयले चैत ४ गते प्रति परिवार १५ हजार रुपियाँ राहत दिएको सहायक प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताउनु भयो । आगलागी पीडितहरूलाई अस्थायी रूपमा वसोवासका लागि त्रिपालको व्यवस्था गरिएको छ । विस्थापित परिवारलाई स्थानीय सरकारले आवास निर्माणका लागि प्रति परिवार ५० हजार रुपियाँ राहत उपलब्ध गराउने निर्णय गरिएको उपप्रमुख पराजुलीले बताउनु भयो । आगलागीका कारण किताब कापी जलेपछि चैत १५ गतेदेखि सुरूआत हुने एसइइ परीक्षा दिने तीन जना विद्यार्थीलाई किताबकापी दिइएको छ । २९ जना विद्यार्थीहरूलाई किताब,कापी र पेनको व्यवस्था मिलाइएको रङ्गेली नगरपालिका-३ का वडाध्यक्ष भरत प्रसाईले बताउनु भयो । आगलागी पीडित रङ्गेली नगरपालिका-३ का श्रवण हस्दाले विद्युत प्राधिकरणले समयमा लत्रिएको तारको व्यवस्थापन नगर्दा आगलागी भएको आरोप लगाउनु भएको छ । कानेपोखरी गाउँपालिका, रङ्गेली, बेलबारी, पथरीशनिश्चरे र सुन्दरहरैँचा नगरपालिका र विराटनगर महानगरपालिकाको दमकलले आगो निभाएका छन् ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्लामा बर्जु गाउँपालिका-४ मा ०८० चैत ४ गते भएको आगलागीमा ५० लाख रुपियाँ बराबरको क्षति भएको छ । स्थानीय विष्णुदेव पौदारको घरबाट अचानक आगलागी हुँदा १५ ओटा घर जलेर नष्ट भइ ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीमा परेर स्थानीयको घर, घरभित्र रहेका विभिन्न फर्निचरका सामग्री, खाद्यान्न सामग्री, कपडालगायत सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका एसपी नवीनकृष्ण भण्डारीले बताउनु भएको छ ।
उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार ०८० चैत ४ गते रौतामाई गाउँपालिका-३ भोर्लेनीस्थित नवउदय सामुदायिक वन उपभोक्ता समुहको जङ्गलमा लागेको डढेलो हावाहुरीले फैलाउँदा नजिकै रहेका ६ ओटा घर र ६ ओटा गोठ जलेर नष्ट भएका छन् । डढेलोको आगो बस्तीमा पस्दा रौतामाई गाउँपालिका-३ भोर्लेनीका गाउन राई, मनकुमारी राई, जगत राई, मदन राई, गोविन्द नेपाली र रामबहादुर राईको गरी ६ ओटा घर र ६ ओटा गोठ पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका एसपी रमेश थापाले बताउनु भयो । आगलागीबाट ४५ लाख ७० हजार मूल्य बराबरको धनमाल जलेर क्षति भएको प्रहरीको अनुमान छ ।
आगलागीका घटना अचाक्ली बढेपछि सर्तकता अपनाउन र तत्काल सहयोगका लागि प्रहरी र दमकल सेवामा सम्पर्क राख्न कोशी प्रदेश, मुख्यमन्त्री कार्यालयले सार्वजनिक अपिलमार्फत सबैसँग आग्रह गरेको छ ।