INSEC Online

📅 २०८३ जेष्ठ २१

जनकल्याण माध्यमिक विद्यालयमा तालाबन्दी, विद्यार्थीहरुको वार्षिक परीक्षा प्रभावित

साँफेबगर नगरपालिका–४ स्थित जनकल्याण माविमा सिभिल इन्जिनियरिङ र जियोमेट्रिकमा अध्ययनरत विद्यार्थीहरूले विद्याललयमा तालबन्दी गर्दा विद्यालयले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रभावित भएको छ ।

जनकल्याण माविमा प्राविधिकतर्फका विद्यार्थीहरूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीभीटी) ले तोकेको भन्दा बढी शुल्क विद्यालयले लिएको भन्दै सिभिल ईन्जिनियरिङ र जियोमेट्रिक अध्ययनरत विद्यार्थीहरूले तालाबन्दी गरेपछि चैत १ गतेदेखि सञ्चालन गरिने भनिएको वार्षिक परीक्षा स्थगित गरिएको छ ।

सिभिल इञ्जिनियरिङ र जियोमेट्रिक सङ्कायमा अध्ययनरत विद्यार्थीहरुले वार्षिक रुपमा अधिकतम् २ लाख ३० हजार रुपियाँ शुल्क लिन पाउने सीटीभीटीले परिपत्र गरेको भए पनि विद्यालयले २ लाख ५१ हजार २ सय रुपियाँ विद्यार्थीबाट शुल्क लिने गरेकोले त्यसको विरोधमा विद्यालयमा तालाबन्दी गरिएको अनेरास्ववियु जिल्ला कमिटी, अछामका सहसचिव मनोज रावलले बताउनु भयो ।

विद्यालयमा तालाबन्दी गरिएपछि कक्षा ८ को परीक्षा बाहेक सम्पूर्ण कक्षाका परीक्षा स्थगित गरिएको विद्यालयका प्रधानाध्यापक भीमबहादुर बुढाले बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक बुढाले ६ महिना आगाडि विद्यालय व्यवस्थापन समितिको भेलाले गरेको निर्णय अनुसार नै वार्षिक शूल्क लिने गरिएको र सीटीभीटीले तोकेको शूल्क भन्दा बढी शूल्क विद्यालयले लिन नमिल्ने भन्दै विद्यार्थीहरुले पटकपटक माग राख्दै आएको भए पनि ६ महिनादेखि विद्यालय व्यवस्थापन समिति नै गठन हुन नसकेको कारण विद्यार्थीहरुको माग सम्बोधन हुन नसकेको प्रधानध्यापक बुढाको भनाइ छ ।

विद्यालयका प्रअ बुढाले नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएपछि विद्यार्थीले राखेका मागहरुका सन्दर्भमा छलफल गर्न सकिने भएकोले हाललाई वार्षिक परीक्षा सञ्चालनमा बाध नपुर्‍याउनका लागि छलफल भइरहेको जानकारी गारउनु भयो । समस्यालाई वार्ताका माध्यमबाट समाधान गरिनु पर्ने र आन्दोलनका नाममा वार्षिक परीक्षा नै प्रभावित हुने गरी विद्यालयमा तालाबन्दी गर्नु उचित नभएको विद्यार्थी लोकेश वुढाको भनाइ छ ।

विद्यालयमा लगाइएको ताला खोलेर वार्षिक परीक्षा सुचारु गर्नु पर्ने र कक्षा ११ र १२ को पढाई समेत प्रभावित भएकोले पठनपाठन सुचारु गर्न आफूहरुले अनुरोध गरेको विद्यार्थी बुढाले बताउनु भयो ।

विद्यार्थीहरुले राखेका मागको सम्बन्धमा छलफल भइरहेको र स्थगित गरिएको परीक्षा सूचारु गर्न पहल गरिहेको साँफेबगर नगरपालिकाका शिक्षा शाखा प्रमुख हिरादत्त भट्टले बताउनु भयो । जनकल्याण माध्यमिक विद्यालयमा ३ सय छात्रासहित ४ सय ९६ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

अन्य

भिडियो