INSEC Online

📅 २०८३ जेष्ठ २१

जलविद्युत आयोजना निर्माणले गर्दा सिङ्गो वडामा नै खानेपानीको हाहाकार

जलविद्युत आयोजना निर्माण भएको रघुगंगा गाउँपालिका– २ पिप्लेका बासिन्दा पछिल्लो चार वर्ष देखि भने खानेपानीको समस्याले गर्दा काकाकुल बन्नु पर्ने अवस्था सृजना हुन थालेको छ ।

१ हजार ६ घरधुरी रहेको पिप्लेमा ३ हजार ५ सय मतदाता र ५ हजार जनसंख्या रहेको छ । उक्त जनसंख्याले प्रयोग गर्ने पानीको मुहानहरु सुक्दै जाँदा अहिले बासिन्दाहरुले वैकल्पीक श्रोतको खोजी गर्न थालेका छन् ।

सरकारी स्वामित्वको रघुगंगा हाइड्रो निर्माण थालनी हुने भनेपछि उत्साहित भएका गाउँलेहरु जब सुरुङ मार्गको काम थालनी भयो त्यस पछि विस्तारै पिउने पानी अभाव हुन थाले पछि अहिले निकै चिन्तीत रहेका छन् । गाउँलेहरुले पिउने साना मुलहरु सबै सुकिसके ठुला मुहानहरुको पानी पनि निकै कम भएको स्थानीय वासिन्दा बलराम शर्मा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “मौवाफाँट, द्वारी खोला, धरमपानी, पुनडाँडाको पानी सुकिसक्यो, प्रशस्त पानी हुने पिप्ले माथिको मुलको पनि अहिले पानी निकै थोरै मात्र छ ।”

रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले रघुगंगा हाइड्रो संग सुरुङ निर्माणको कारणले गर्दा पानीको श्रोत नासिएको विषयमा कम्पनीलाई जानकारी गराएको भए पनि उनीहरुले त्यस बारेमा केही नभनेको बताउनु भयो । उहाँले भन्नुभयो–‘३ नम्बर वडा पिप्ले र २ नम्बर वडा भगवती सम्म पनि पानीको समस्या भएकोले भगवती पिप्ले बृहत योजना मार्फत १३ किलोमिटर टाढा चिमखोलाबाट पानी ल्याउनका लागि प्रयास गरिएको छ ।’ ‘ठुलो बजेट अनि टाढाबाट पानी ल्याउनु पर्ने भएकाले केही प्राविधिक कुराहरु मिलेका छैनन् अब केही समयमा अर्थ मन्त्रालयमा पुगेर थप छलफल पछि योजनालाई मुर्तरुप दिन लाग्ने छौ’–उहाँले भन्नुभयो ।

५० भन्दा धेरै मुलहरु सुकीसकेको छ भने अरु धेरै मुलहरुमा पनि पानी हराउँदै गएको हुँदा अब पानीको समस्या जटिल बन्दै गएको स्थानीय धनवहादुर रकालले बताउनुभयो ।

रघुगंगा गाउँपालिका– २ को क्षेत्र मुनिबाट जलविद्युतका लागि सुरुङ निर्माण थालिए सँगै पानीको श्रोत हराउँदै गएको बबि शाहीको भनाई छ । उहाँका अनुसार २ नम्बर वडा पिप्लेका अधिकांश क्षेत्रमा दुई चार घरलाई प्रयोग गर्न पुग्ने खालका मुहानहरु सबै सुकेका छन् भने ठुला मुहानमा पनि अहिले निकै कम मात्रै पानी आउने गरेको छ ।

रघुगंगा गाउँपालिका– २ पिप्लेका वडा अध्यक्ष खिम शाहीले हाइड्रो बन्नु ठिक थियो तर प्राविधिक अध्ययन बिना काम भयो वा किन हो पिउने पानीको सबैजसो श्रोत हराएर अहिले पानीको समस्या भएको बताउनुहुन्छ । उहाँले बृहत योजना बनाएर चिमखोलाबाट पानी ल्याउने प्रयास गरेको भए पनि त्यसको लागि समय लाग्ने र पानीको समस्या भने अहिलेनै भइसकेको बताउनुभयो ।

जिल्ला समन्वय समितिका पूर्व प्रमुख देवेन्द्रबहादुर कटुवालले जलविद्युत योजनाका कारणले गर्दा पानीको श्रोत हराएको कारणले पिप्ले भवगती बृहत खानेपानी योजना अगाडि सारेर निस्कर्षमा पुर्‍याउनु पर्ने अवस्था आएको भए पनि त्यसका लागि गाउँपालिकाले नै अग्रसरता देखाउन नसकेको बताउनुभयो ।

अन्य

भिडियो