INSEC Online

📅 २०८३ जेष्ठ २१

हिलिहाङ्ग गाउँपालिका पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा

विश्व स्वास्थ्य सङ्गठनले तोकेको सूचक पुरा गरेपछि हिलिहाङ्ग गाउँपालिकालाई कोशी प्रदेशको दोस्रो पूर्ण खोप सुनिश्चित स्थानीय तहका रूपमा घोषणा गरिएको छ ।

जन्मेदेखि ५९ महिना उमेर समूहका सबै बालबालिकालाई विश्व स्वास्थ्य सङ्घठनले तोकेका सबै खोपको मात्रा पुरा गरेपछि ०८० फागुन २० गते हिलिहाङ्गलाई दोस्रो पूर्ण खोप सुनिश्चित स्थानीय तहका रूपमा घोषणा गरिएको हो ।

Photo 20240303 Pachathar

कोशी प्रदेशका १ सय ३७ ओटा स्थानीय तहमध्ये नगरपालिकातर्फ ताप्लेजुङको फुङलिङ नगरपालिका ०८० फागुन १२ गते र गाउँपालिकातर्फ हिलिहाङ ०८० फागुन २० गते पूर्ण खोप सुनिश्चित पहिलो स्थानीय तह भएको जनस्वास्थ्य कार्यालय, पाँचथरका प्रमुख तेजबहादुर तुम्बापोले बताउनु भयो ।

हिलिहाङ्गका सबै वडामा रहेका १५ देखि ५९ महिना उमेरका बालबालिकालाई खोपको मात्रा पुरा फागुन २० गते पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले बताउनु भयो ।

गाउँपालिकास्तरीय खोप समन्वय समितिको सर्वेक्षण र प्रतिवेदन सदर गर्दै जिल्ला खोप समन्वय समितिले फागुन २० गते हिलिहाङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितसहितको गाउँपालिका घोषणा गर्दै प्रमाणपत्र प्रदान गरिएको छ ।

खोप समन्वय समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति पाँचथर, प्रमुख रामराज आङदेम्वे र सदस्य सचिव जिल्ला स्वास्थ्य कार्यालय, पाँचथरका प्रमुख तेजबहादुर तुम्वापोले गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीलाई प्रमाण पत्र दिँदै हिलिहाङलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्नु भएको हो ।

हिलिहाङ्ग गाउँपालिकाको तथ्याङ्क अनुसार यहाँ १६ देखि ५९ महिना उमेर समूहका बालबालिकाको सङ्ख्या ७ सय ३६ जना छ । ती सबैलाई खोपको सबै मात्रा दिइएको छ भने जन्मेदेखि १५ महिना उमेर समूहका बालबालिकाले पनि मापदण्ड अनुसारका खोप लगाएको हिलिहाङका स्वास्थ्य शाखा प्रमुख चन्द्र घिमिरेले बताउनु भएको छ ।

अन्य

भिडियो